
सुर्खेत - नयाँ वर्ष २०८२ भित्रिएको छ । नयाँ वर्षमा कतै नयाँ ठाउँमा घुम्ने योजना बनाउनेहरूकालागि कर्णाली एक आकर्षक गन्तव्य हुनसक्छ । नयाँ वर्षको सदुपयोग गर्न धेरैले आफ्नो पायक पर्ने रमणीय स्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा‘अपलोड’ गर्ने गरिरहेको पाइन्छ ।
अचेल सामाजिक सञ्जालको व्यापकताका कारण घुमफिर संस्कृति बढ्दो छ । तपाइले पनि नयाँ वर्षमा कर्णाली घुम्ने योजना बनाउनु भएको छ भने यी ठाउँहरू उपयुक्त हुन सक्छन् ।
कर्णालीका आकर्षण
कर्णाली प्रदेश सरकारले प्रदेशका १० वटै जिल्लाका १ सय १ पर्यटकीय क्षेत्रहरू पहिचान गरी पर्यटन गन्तव्यका रुपमा घोषणा गरिसकेको छ । प्रदेश राजधानी सुर्खेतमै केही प्रसिद्ध पर्यटकीय स्थलहरु छन् ।
देउतीबज्यै मन्दिर, बुलबुले ताल, दोस्रो लुम्बिनीको रुपमा चिनिएको देउतीबज्यै, शहिदपार्कलगायतका स्थानहरू सुर्खेतको वीरेन्द्रनगरभित्रकै आकर्षण हुन् । त्यस्तै बराहताल, भाइरल रोड, गोठिकाँडा, जुर्बटालगायतका स्थानहरूले पनि सुर्खेतको पर्यटकीय पहिचान दिइरहेका छन् ।
यी गन्तव्यसँगै दैलेखको पञ्चकोशी, कालिकोटको पचालझरना, सल्यानको कुपिन्डे दह, रुकुमको स्यार्पुताल, जुम्लाको चन्दननाथ, हुम्लाको हिल्सा, लिमी, डोल्पाको से फोक्सुण्डो ताल लगायतका पर्यटकीय गन्तव्यहरुले कर्णालीको मात्र होइन मुलुककै पहिचान दिइरहेका छन् ।
त्यसका साथै कर्णालीका केही मानव निर्मित स्थानहरूले पनि कर्णालीको पर्यटकीय सम्भावना बोकेका छन् । तीमध्ये सुर्खेतको सहिदपार्क, गिरी पार्क, दैलेखको गुराँसेमा निर्माण गरिएको भ्यु टावर, दैलेखको जलजलस्थित पेट्रोलियम पदार्थ उत्खनन् स्थल, कालिकोटको पिली क्षेत्र (युद्धपर्यटकीय स्थल) राष्ट्र गुरु योगीनाथको जन्मस्थान नरहरि नाथको लालु, कालिकोटको त्रिवेणीपाटन, रुडुबन्चुलगायतका क्षेत्रहरू कर्णालीका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरू हुन् ।
कसरी जाने ?
कर्णालीका यी सबै पर्यटकी यगन्तव्यहरुमा पुग्न कर्णालीको राजधानी आउनै पर्छ । काठमाडौंदेखि सुर्खेतसम्म हवाइजहाज र बसको यात्रा गर्न सकिन्छ । काठमाडौंदेखि सुर्खेत हवाईजहाजले १ घण्टा १० मिनेट र बसमा २४ घण्टा बढी समय लाग्ने गर्दछ । सुर्खेत पुगेपछि काँक्रेविहार, बुलबुले ताल, देउतीबज्यै र सहिदपार्कको घुमघामका एकै दिनमा सकिन्छ । अनि बाँकी अन्य जिल्लाहरुमा स्थल र हवाई मार्ग दुवै प्रयोग गर्न सकिन्छ । डोल्पा, जुम्ला, हुम्ला र मुगु जिल्लामा हवाई यात्राकालागि नेपालगन्ज भएर जान सकिन्छ ।
सुर्खेत पुगेपछि एक पटक धेरै पर्यटकीय स्थलहरुमा घुमघाम गर्न पाइन्छ । सुर्खेत आउने जोकोहीकालागि पनि बुलबुले ताल, काँक्रेविहार र देउतीबज्यैको दर्शन प्रमुख आकर्षक मानिन्छ । कर्णाली प्रदेशको राजनधानी भएसँगै सुर्खेतका यी पर्यटकीय स्थानहरूले पर्यटकको आकर्षण बढाएका छन् ।
सुर्खेत कर्णाली प्रदेशको राजधानीसँगै यो प्रदेशको प्रदेशद्वार पनि हो । कर्णालीका थुप्रै पर्यटकीय स्थलहरू मध्येको सुर्खेतका यी स्थलहरूले पर्यटकहरूलाई आकर्षण गरिरहेका छन् ।
देउती बज्यै
देउती बज्यै कर्णाली प्रदेशकै मुख्य धार्मिक पर्यटकीयस्थलका रुपमा चिनिएका छ । सुर्खेत पुग्ने बित्तिकै गंगामाला देउती बज्यैको मन्दिरको दर्शन गर्न पाइन्छ । रत्न राजमार्गको नेपालगन्ज–सुर्खेत खण्डको पिपिरादेखि दुई सय मिटर दक्षिणमा अवस्थित यो मन्दिर हिन्दु धर्मावलम्वीहरूको प्रमूख आकर्षण पनि हो । गंगामाला देउती बज्यै मन्दिरको इतिहास सुर्खेतमा बसोबास गरिरहेका पुरानो राजी जातिसँग जोडिएको छ । देउती माईका सात बहिनीमध्ये केशमाला सल्यान कालीका माटी, रतनमाला सुर्खेत गोच्चे पोखरा, रुद्रमाला सुर्खेत सुबाघाट, चतुर्माला कल्याण सुर्खेत, चामामाला बबैगुठी बर्दिया, राममाला छिन्चु सुर्खेत र गंगामाला नयाँगाउँ पिपिरा सुर्खेत रहेको भन्ने जन विश्वास छ । देउती बज्यैको दर्शनले मनोकांक्षा पुरा हुने जन विश्वास रही आएको छ ।
बुलबुले ताल
सुर्खेतको बुलबुले ताल कर्णाली प्रदेशकै प्रमूख पर्यटकीय आकर्षण हो । कर्णाली प्रदेशको स्थायी राजधानी भएसँगै बुलबुले तालमा आउने पर्यटकहरूको संख्यामा पनि वृद्धि भएको छ । जमिन मुनिबाट बुलबुल गर्दै पानी आउने भएर नै यसको नामाकरण बुलबुले ताल गरिएको हो ।
३० बिघा क्षेत्रफलमा फैलिएको बुलबुले ताल कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य हो । बुलबुलेमा गार्डेन, शान्तिपार्क, पिकनिक स्थलसहित एउटा पछिलले समय बोटिङ गर्न पाइएन भएपछि दैनिक पर्यटकहरूको संख्या बढी रहेको छ ।
पिकनिककालागि आवश्यक सामग्रीहरू त्यहीँ किन्न सकिन्छभने तालबाट निस्किएको पानीबाट परम्परागत १० धारा बनाइएको छ । तालको पूर्वतिरका ५ धारमा महिला र दक्षिणतर्फका धारमा पुरुषहरूले नुहाउने गरिएको छ ।
काँक्रे विहार
सुर्खेतको काँक्रे विहार दोस्रो लुम्बिनीका रूपमा परिचित छ । तेह्रौ शताब्दीतिर काँक्रे विहार निर्माणको अनुमान गरिए पनि यसको आधिकारिक तथ्य भने भेटिएको छैन । बौद्ध धर्मको व्यापकतालाई रोक्न शंकराचार्य र उनका शिष्य अनुयायीहरुले बौद्ध विहार भत्काई शिवमन्दिर निर्माण गराएको र यही सन्दर्भमा लाटिकोइली शिवमन्दिरको स्थापना गरिएको हो भन्ने पनि अनुमान गरिन्छ । यसको निर्माण गर्नेमा पाण्डव, बौद्ध लामा समेतलाई लिने गरिएको छ ।
काँक्रे विहारको भग्नावशेषलाई हेर्दा उत्कृष्ट शिल्पकारी कारिगरले विभिन्न आकारमा रहेका ढुङ्गाहरुमा विभिन्न प्रकारका बुट्टाहरू कुदेको भग्नावशेष पाइन्छ । प्रायःजंगलभरी यस्ता बुट्टाहरु कुदिएका ढुङ्गाहरु भेटिन्छन् ।
बुद्धको मुर्ति पाउनु र स्थानको नाममा पछाडी विहार जोडिएबाट यो भग्नावशेष भगवान् बुद्धसँग सम्बन्धित मानिएको छ । २०७१ सालको भुकम्पले भग्नावशेष भएको काँक्रे विहारलाई पुनर्निर्माणसँगै यहाँ आउने पर्यटकहरू बढेका छन् । काँक्रे विहार क्षेत्रमा घोडामा चढेर घुम्न मिल्ने भएपछि स्थानीय पर्यटकको पनि रोजाइमा परेको छ ।
ज्वाला र पञ्चकोशी
सुर्खेतबाट कर्णालीको याात्रामा निस्कने जो कोहीका लागि सुर्खेतको छिमेकी जिल्ला दैलेखमा रहेको श्रीस्थान, नाभिस्थान, धुलेश्वर, पादुका, कोटिला पञ्चकोशी क्षेत्र पर्यटककालागि अर्को रोजाई हुन् ।
पञ्चकोशीको शीरस्थान, नाभिस्थानमा निरन्तर प्रज्वलितज्वालाबलिरहेको दृश्य हेर्न तथायहाँतीर्थ गर्न नेपालीका साथै भारतीयहरु पनिआउँछन् । श्रीस्थानको ज्वाला क्षेत्र अन्तर्गत १०८ शक्तिपीठ पर्दछन् ।
भैरवी, मालिका, स्वामीकार्तिक्य, बिन्ध्यावासीनी, लामाद्वालाआदिचर्चित छन् । पञ्चकोशी ज्वाला क्षेत्र हिन्दू धर्मावलम्वीको लागिमात्र नभएर बौद्ध धर्मावलम्बीको लागिपनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।
पञ्चकोशी दर्शनले पितृ उद्धार, मनोकांक्षा पूरा हुनुका साथै आत्मीय आनन्द र शान्ति प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ । श्रीस्वस्थानी व्रत कथासँग जोडिएका पाँचवटा पवित्र तीर्थ दैलेखमै छन् । यहाँ अहिले नेपाल सरकारले चिनियाँ सहयोगमा पेट्रोलियमपदार्थ भण्डार रहे/नरहेको अनुसन्धान गर्दैछ । दुल्लु क्षेत्र ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक हिसाबले धनी छ । पुरातात्विकधारा, मठमन्दिर, देवलप्रशस्त देख्न सकिन्छ । कोतगढी, पञ्चदेवल, बेलासपुर मन्दिर, गुराँसे क्षेत्र पर्यटकीय गन्तव्यमा पर्दछन् ।
पञ्चकोसी ज्वाला क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डारण रहेको मानिन्छ । दैलेख धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका हिसाबले दैलेख महत्वपूर्ण जिल्ला हो ।
सुर्खेतदेखि बस यात्रामा साढे तीन घन्टामा दैलखेको रानी मत्ता गुराँसे लेक हुँदै सदरमुकाम पुग्न सकिन्छ । दैलेख बजार पुगेपछि कोतगढी–पञ्चदेवल–बेलासपुर–महाबु र पञ्चकोसी धार्मिक पर्यटनविकास (पञ्चकोसी ज्वाला क्षेत्र) छनोट गर्न सकिन्छ ।
पचाल झरना
कालिकोटको पचाल झरना गाउँपालिकाको खार्दुमा रहेको ‘पचालझरना’उत्कृष्ट नयाँ पर्यटकीय गन्तव्यमा पर्छ । ३ सय ८१ मिटर लम्बाइ भएको यो एसियाकै सबैभन्दा अग्लो झरनाका रूपमा दाबी गरिएको छ ।
तर हाल ३ सय ६५ मिटर अग्लो तेह्रथुमस्थित ह्यातुङ झरना नेपालकै सबैभन्दा अग्लो झरनाको रूपमा परिचित छ । कालिकोट सदरमुकामदेखि करिब १६ घन्टाको पैदल यात्रापछि पचाल झरनामा पुग्न सकिन्छ । पछिल्लो समय कर्णाली करिडोर सञ्चालन भएपछि पचाल झरना पुग्न केही सहज भएको छ । कर्णाली नदीको किनारै किनार पचाल झरनासम्म पुग्दाथुप्रै आकर्षक दृश्यहरू पनि देख्न पाइन्छ ।
कालिकोटमा पुगेपछि राष्ट्रगुरु योगी नरहरीनाथको जन्मस्थानपनि नजिकै छ । जसको नाममा योगी नरहरीनाथ गाउँपालिकाको नामकरण गरिएको छ ।
नरहरीनाथमा पुगेपछि पाँच घण्टाको पैदल यात्रापछि अछामको रामारोसन र बाजुराको बढीमालिका पुग्न सकिन्छ । यो यात्रामा स्थानीय उत्पादनका परिकारहरू र अधिकतम दहीदुध र महको स्वाद लिन सकिन्छ ।
कुपिन्डे दह
सल्यानको बनगाड कुपिन्डे नगरपालिकाको सेजुवाल टाकुरा, मार्के, माझकाँडा, धाजीपीपल र कजेरी बस्तीको बीचमा रहेको कुपिण्डे दह प्राकृतिक रूपले सुन्दर मानिन्छ ।
कुपिण्डे दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्छ । हरियाली रुख विरुवा, सुन्दरबस्ती सल्यानी संस्कृतिको जनजीवनले जो कोहीलाई पनि कुपिण्डे दह पुग्दा आनन्दको महसुस हुन्छ । दहको किनारमा बराहको मन्दिर छ । डुङ्गा सयर गर्ने, मनोरम वातावरण र हिमशृङ्खलाको दृश्यावलोकनमा ग्रामीण पर्यटक रमाउन थालेका छन् ।
कुपिण्डे दह ३४ मिटर गहिरो, २३.५३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । कुपिण्डे दहको लम्बाइआठ सय ३४ मिटर र चौडाइपाँच सय ३८ मिटर रहेको छ । कुपिण्डे दह समुन्द्री सतहदेखि ११ सय २० मिटर उचाइमा रहेको छ ।
चारैतिर पहाडले घेरिएको र बीचमानीलो पानीले भरिएको कुपिण्डे दहले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाएकै हुन्छ । वरिपरि मिलेका पहाड, हरियो जंगल र बीचमा नीलो आकाशझैं उत्तर दक्षिण फैलिएको दह साँच्चिकै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ ।
सल्यान सदरमुकाम खंलङ्गाबाट एक घण्टाको बस यात्रापछि कुपिण्डे दह पुग्न सकिन्छ । वीरेन्द्रनगर सुर्खेतबाट २ घण्टाको बसको यात्रामा कुपिण्डे तालमा पुगिन्छ । तालमा घुमेर फर्किएपछि सल्लीबजार, बालुवा संग्रही या खलंगा गएर पनि बास बस्न सकिन्छ ।
शे–फोक्सुन्डो ताल
डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्छ फोक्सुन्डो ताल । छिनमा नीलो, छिनमै कालो र छिनमै सिन्दुरे बन्छताल । काञ्जिरो वा हिमालको काखमा अवस्थित शे–फोक्सुन्डो गाउँपालिका–८, डोल्पामा पर्ने ताल (३,६०० मिटर)को क्षेत्रफल ४.९५ वर्ग किमी छ । यसको अधिकतम लम्बाइ ५.९३ किमि र अधिकतम चौंडाइ १.८० किमि छ भने गहिराइ १४५ मिटर । ताल २३ सेप्टेम्बर २००७ मा रामसार साइटमा सूचीकृत भएको छ ।
डोल्पा जिल्ला बाह्रै महिना घुम्नकालागि उपयुक्त स्थान हो । डोल्पामै प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवा पाइन्छ । तल्लो र माथिल्लो डोल्पा पदयात्राका लागि उपयुक्त मानिन्छ ।
माथिल्लो डोल्पा पदमार्ग भित्र पर्ने नगलाघाँटी क्षेत्र अति रमणीय छ । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको मानव बस्ती धो उपत्यका डोल्पामै पर्दछ । त्यस्तै, शे–फोक्सुण्डो रारा पदयात्राका लागि राम्रो सम्भावना बोकेको क्षेत्र हो ।
काठमाडौं–सुर्खेत–जाजरकोट–डोल्पा सडक यात्रा बसमा डोल्पा सदरमुकाम दुनैसम्म गाडिको यात्रामा जानु पर्ने हुन्छ । सुर्खेत–जाजरकोट–डोल्पा सदरमुकाम दुनैसम्म २५५ किमि सडकमा सहजै सवारी सञ्चालनमा छन् । जुफाल–सुलिगाड ८ किमि जीपमा यात्रा गरेपछि। सुलिगाडबाट दुई दिन एक बिहान पदयात्रामा फोक्सुन्डो ताल पुगिन्छ । तालनजिक खान बस्नका लागि होटेलहरूको सुविधा छ ।
लिमी उपत्यका
अझैपनि राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेको जिल्ला हो, हुम्ला । जिल्ला सदरमुकाम सिमिकोटबाट करिब एक हप्ताको पदमार्गपछि लिमी उपत्यका पुग्न सकिन्छ । ११ औँ शताब्दीको हल्जी गुम्बा र गाउँमा रहेका साना–ठूला गुम्बा यहाँका मुख्य आकर्षणका केन्द्र हुन् । खस साम्राज्यको आधार खण्ड र तिब्बती संस्कृति यहाँका अन्य आकर्षण हुन् ।
महँगा मूर्ति, पौराणिक वास्तुकला लिमीका थप विशेषता हुन् । पुराना गरगहना, यहाँको गुम्बामा कुँदिएका पौराणिक कलाकृति लगायतका वस्तु अति नै लोभ लाग्दा छन् ।
प्राकृतिक सौन्दर्य, पर्यावरण जैविक विविधता र मानव सभ्यताको हिसाबले महत्वपूर्ण मानिएको यो उपत्यका समुद्री सहतबाट १७ हजार फिट उचाइमा अवस्थित छ । लिमी उपत्यकाको लाप्चा नाकाबाट तिब्बतको कैलाश मानसरोवर दर्शन गर्न सकिन्छ ।
जाङ, हल्जी र तिलगाउँबाट कैलाश मानसरोवर पैदल पनि हिँडेर जान सकिन्छ । १९४५ सालमा निर्मित माना–पाथी, ढक–तराजुलगायतका सामग्री अझै यहाँ संरक्षण गरी राखिएको छ ।
लिमी उपत्यकामै वनचौंरी, वनघोडा, वनबिरालो, बाघ, हिउँचितुवा र ध्वाँसे चितुवा, मृग, भालु लगायतकादुर्लभ वन्यजन्तु पाइन्छ । सन् २०१३ मा यहाँ राखिएका केही स्वचालित क्यामेरामा कैद तस्वीर हेर्दा अनौठा र दुर्लभ जनावर रहेको प्रमाणित भएको छ ।
हिन्दु र बौद्ध दुबैको तीर्थस्थल मानसरोवर पुग्न हुम्लाकै बाटो प्रयोग हुन्छ । बर्सेनि सयौंको संख्यामा भारतीय पर्यटक यहाँबाटै मानसरोवर पुग्छन् । नेपालकै अग्लो स्थानमा रहेको सदरमुकाम हो, हुम्लाको सिमकोट । यो समुद्री सतहबाट २ हजार ९०० मिटरको उचाइमा छ । हुम्ला विश्व तीर्थयात्री र मानसरोवरका लागि प्रवेशद्वार पनि हो ।
स्यार्पु ताल
रुकुमको स्यार्पु ताल बर्षातको समयमा एक पटक अवलोकन गर्नै पर्ने ताल हो । मुसी कोटबाट रातामाटा, गाराघाट, छिन्खेत हुँदै स्यार्पु पुग्ने एउटा बाटो छ भने मुसी कोटबाट सल्ले, कैलदेउ, गिल्बाङ हुँदै पुग्ने अर्को बाटो छ ।
चारैतिर हरियाली गाँउ बीचमा सुन्दर तालमा डुंगा शयर गर्नुको मज्जा बेग्लै छ । रुकुम जिल्लालाई पर्यटकीय दृष्टिकोणले अग्रपंतिमा लिनको लागी यो स्यार्पु तालको उत्तिकै महत्व छ ।
रुकुम सदरमुकाम देखी १ दिनको पैदल दुरीमा पर्ने बाँफिकोटमा अवस्थित स्यार्पु तालमा रमाउन पुग्ने पर्यटकका लागी होमस्टे पनि सञ्चालनमा छन् । तालमा र्याफ्टिङ बोट सञ्चालनमा ल्याइएको छ । ८ देखि १२ जना सम्मको क्षमता रहेको रबरको आधुनिक डुंगा सञ्चालनमा छन् ।
तालको चारैतर्फ मिलेर बनेका बस्तीहरू, नजिकै रहेको स्यानी दह, दादुरे ताल, सिमैछरी झरना र स्यार्पुसम्म पुग्दा सोही बाटो भएर सुसाउँदै बहने सानी भेरी नदीको दृश्यले अझ स्यार्पुको महत्वलाई दर्शाएको छ । स्यार्पुतालमा जानका लागि सवारी साधन गाडि नै हो । रुकुमपश्चिम सदरमुकाम खलंगा पुगेर डिग्रे साई कुमारी मन्दिर दर्शन गरेर पनि स्यार्पु आउन सकिन्छ भने सुर्खेतबाट ७ घण्टामा सुर्खेत पुग्न सकिन्छ ।
रारा ताल
रारा नेपालको भर्जिन पदमार्गसहितको गन्तव्य हो । साहसिक यात्राको गन्तव्य पनि हो । रारा ताल बिहान कालो, दिउँसो नीलो र साँझ सप्तरङ्गी देखिन्छ । तालको वरिपरि मनोरम सल्लाघारी छ । साँझ तालको वरिपरि पैदल यात्रा गर्न सकिन्छ । प्रकृतिसँग विचरण गर्न मिल्छ । चराचुरुङ्गीको चिरबिरले मन प्रफुल्लित बनाउँछ । तालमा बोटिङ गर्न मिल्छ । तालको छेउमा टेन्टमा रात बिताएर आनन्द लिन सकिन्छ ।
नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको हो रारा । कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा ताललाई राजा महेन्द्र बीर बिक्रम शाहले वि.स २०२० सालमा स्वर्गकी अप्सरा भनेर उपमा दिएका थिए । राजा महेन्द्रले अप्सरा नाम दिएपछि राराको झन् महत् बढ्दै गएको पुरानो किम्वदन्ती छ ।
समुन्द्र सतहबाट २९ सय ९० मिटरको उचाइमा रहेको रारा ताल पुग्न अहिले बहुत सहजता आएको छ । यो मौसम रारा भ्रमणकालागि उपयुक्त मानिन्छ । रारा तालको लम्बाइ ३.२ किलोमिटर र गहिरा १ सय ६७ मिटर छ ।
रारा तालकुल १०.८ किलोमिटरमा फैलिएको छ । राराबाट फर्किंदा मनोरम दृश्यबाहेक कर्णालीका स्थानीय उत्पादन, घरेलु उत्पादन टोपी, कपडा, स्याउका परिकारहरू कोसेलीको रूपमा ल्याउन सकिन्छ ।
सडक र हवाई दुवै माध्यमबाट जान सकिन्छ । हवाई यात्राका लागि नेपालगञ्जबाट मुगुको ताल्चा विमानस्थल सम्म हवाई सुविधा छ । ताल्चा विमानस्थलबाट करिब तीन घण्टा पैदल यात्रापछि रारा ताल पुग्न सकिन्छ । हवाई यात्रा नियमित उडान नहुन सक्छ । सुर्खेतको वीरेन्द्रनगरदेखि दुई दिनको बस यात्राबाट मुगुको गमगढी पुगिन्छ र गमगढीबाट करिब ३ घण्टा पैदल यात्रामा रारा ताल पुगिन्छ । रारा भ्रमण गर्दा खाने वस्ने लगायत औसतमा दैनिक २ हजार खर्च लाग्छ ।
नेपालगञ्जबाट ताल्चा विमानस्थलसम्मको यात्रा करिब ६ हजार भएपनि यो रकम फेरबदल भइरहन्छ । वीरेन्द्रनगरबाट रारा जानकालागि नियमित गाडीबाट निकै कठिन हुन्छ । त्यसैले फोर ह्वीलवाला गाडी रिजर्भमा जाँदा दिनको ६/७हजार रुपैयाँ खर्च लाग्छ ।
चन्दननाथ मन्दिर
कर्णालीको प्रमुखधार्मिक पर्यटकीयस्थलचदननाथ भैरवनाथमन्दिर पनि एक हो । जुम्लाखलंगाको बीचमा रहेको चन्दननाथमन्दिरमा एक वर्षमा ५२ हप्ताहुने भएकोले ५२ हाते लिंगो खडा गर्नुपर्ने प्रचलन छ ।
लिंगोलाई रातो, सेतो, रङ्गीबिरङ्गीकपडाले ढाकिन्छ । लिंगोको टुप्पोमा पताका लगाएर मन्दिरमा ठड्याइन्छ । ठड्याउने क्रममा लिंगो भााँचियो वा खण्डित भयो भने पूरै देशमा अनिष्ट हुन्छ भन्ने जनविश्वास छ । देवताको जयघोष र पूजाआरती, भजन किर्तनका साथ लिंगो फेर्ने चलन रहेको छ । चन्दननाथ मन्दिरसँगै जोडिएको बटुक भैरवनाथ मन्दिरमा पनि ४८ हातको लिंगो र ४८ हातकै ध्वजा र नेजा राखिएको छ ।
६७० सालमा चढाएको लक्ष्मी नारायणको मूर्तिमा लेखिएको मिति हेर्दा २०७९ सालको लिंगो फेर्ने कार्य ३ हजार पटक भएको देखिन्छ । जुम्लाबाट अन्न र पैसा, कालिकोटबाट बाबियो, घ्यु, मह, हुम्लाबाट ठेटुवा, चौरी फुर्को र थाप्का, मुगुबाट मास, मुगी दाल, राडिपाखी, ठेटुवा र चौरी फुर्को ल्याउने परम्परा छ ।
जुम्ला राज्यको स्थापनासँगै १४४८ मा राजा बलिराजले चन्दननाथ मन्दिरको निर्माण गरेका थिए । पटक पटक यो मन्दिरले विभिन्न समस्या झेल्दै आएको थियो । १८४६ मा जुम्ला राज्य कब्जामा परेपछि मन्दिरको भौतिक संरचना ध्वस्त भयो । त्यसपछि सिद्धचन्दन नाथबाबाले मन्दिर निर्माण गरी चरण पादुका बनाएर दत्तात्रयको मूर्ति राखेका थिए ।
चन्दननाथ जानका लागि राराको यात्रा बनाएर २ घण्टा खलंगा पुगेर पनि घुमेर फर्किन सकिन्छ । चन्दननाथ मन्दिर दर्शन गर्न जाँदा जुम्ला तातोपानीमा पनि नुहाउन उपयुक्त समय हुन्छ । जुम्लाको अर्को पर्यटकीय गन्तव्य सिंजा उपत्यका पनि घुम्न सकिन्छ ।
सांस्कृतिक विविधता
कर्णालीप्रदेशको राजधानी घोषणा हुनु अघि पनि सुर्खेत तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम हो । त्यसैले पनि यहाँ कर्णाली प्रदेशका अन्य सबै जिल्लाका मानिसहरूको बसोबास रहेको छ भने सुदूरपश्चिम प्रदेशको अछाम बाजुरा लगायतका जिल्लाहरुबाट पनि मानिसहरुको बसोबास छ ।
सबै जिल्लाका मानिसहरु यहाँ बसोबास गर्ने भएकाले पहाड, हिमाल तथा तराईको साँस्कृतिक विविधता पनि पाइन्छ । कर्णालीमा मागल, झोडा, देउडा लगायत विभिन्न जातजातिको संस्कृती पनि यहाँ हेर्न लायक छ ।