Harsamaya

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र अग्रगामी परिवर्तनको संकल्प र प्रतिबद्धता नै नया वर्षको शुभकामना भएको बताएका छन् ।

नयाँ वर्ष २०८२ को अवसरमा  शुभकामना दिदैँ उनले २०८२ साल नयाँ चुनौती र अवसरहरू लिएर हाम्रो सामु उपस्थित भएको बताएका हुन् ।

उनले भने,‘लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ सुदृढ लोकतान्त्रिक गणतन्त्र हो भन्ने तथ्य स्पष्ट नै छ । नेपाली जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र अग्रगामी परिवर्तन चाहन्छन् भन्ने तथ्य पुनः पुष्टि गर्दै नयाँ संकल्प लिन अग्रसर छन्। यही संकल्प र प्रतिबद्धता नै नयाँ वर्ष २०८२ को साँचो अर्थमा शुभकामना हुनेछ ।’

उनले संविधानको पूर्ण कार्यान्वयन नहुँदा लोकतान्त्रिक प्रणालीप्रति प्रश्न उठाउन खोजेको भन्दै सरकारका जनविरोधी क्रियाकलाप र प्रतिगामी षड्यन्त्रविरुद्ध संयुक्त प्रतिरोध गर्नु आजको आवश्यकता रहेको पनि बताए ।

उनले भविष्य पछाडि फर्केर नभई अगाडि बढेर मात्र उज्यालो भन्दै भने, ‘देशको समृद्धि र उज्ज्वल भविष्यका लागि दृढतापूर्वक आफ्ना पाइलाहरु अघि बढाऔं। आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत रोजगारीको सिर्जना गरौं ।’

अध्यक्ष प्रचण्डले उन्नत र समृद्ध राष्ट्र निर्माणको लागि एकतावद्ध भएर अघि आह्वान समेत गरे । 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update