Harsamaya
नयाँ वर्षमा “क्याम्पेन फर क्लिन पोलिटिक्स” को अभियान चलाउन आवश्यक : डा शेखर 
नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला। 

काठमाडौं - नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नयाँ वर्ष काँग्रेस महाधिवेशनको वर्ष भएको बताएका छन् । नयाँ वर्ष २०८२ को शुभकामना दिँदै उनले कुनै कारण देखाएर कांग्रेस महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाती हुने बताए । 

‘यो वर्ष विधानतः कांग्रेस महाधिवेशनको वर्ष हो । कुनै कारण देखाएर कांग्रेस महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाती हुनेछ । यसतर्फ कांग्रेसका साथीहरूलाई चनाखो र सतर्क रहन पनि म अपिल गर्दछु’, कोइरालाको शुभकामना सन्देशमा उल्लेख छ । 

नयाँ वर्षमा “क्याम्पेन फर क्लिन पोलिटिक्स” को अभियान चलाउन आवश्यक रहेको उनले बताए । ‘हामी सबै राजनीतिमा देखिएको विकृति विसंगतिको चर्चा गर्छौं । यसको उपचारको खोजी पार्टी भित्रबाट गर्नुपर्छ भन्ने मेरो मान्यता हो’, उनले भने,  ‘पार्टीको अगुवाईमा “क्याम्पेन फर क्लिन पोलिटिक्स” को अभियान नचलाई बस्ने हो भने विपी कोइरालाले भन्नु भए झै कांग्रेस पार्टी “सुकिला मुकिला र पैसावालाको कब्जामा” जाने खतरा छ । र म त्यो देख्दैछु ।’

(नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले नयाँ बर्ष - २०८२ अवसरमा दिनुभएको शुभकामना) 

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,  
नयाँ वर्ष २०८२ तपाई हाम्रो घर आँगनमा उत्साह र उमंगको साथ पदार्पण गर्दैछ । यो समयमा वितेको वर्षको समीक्षा र आगत नयाँ वर्षले हामी सवै नेपालीलाई सुख, शान्ति र समृद्धि तर्फको यात्रामा डोर्‍याउने छ भनी कामना गर्दछौँ । 

नेपालीहरुले मात्र मनाउँने यो नयाँ वर्षलाई एउटा क्यालेण्डर हटाएर अर्को नयाँ क्यालेण्डर झुण्डाउने कार्यमा मात्र हामी सिमीत राख्न सक्दैनौं । हामी यतिखेर इतिहाँसको त्यो दोबाटोमा उभिएका छौँ जहाँबाट सामान्य त्रुटि हुँदा र गलत दिशा तर्फ जाँदा हाम्रो देश नेपाल ठुलो जोखिममा पर्छ । 

अन्तराष्ट्रिय मंचमा देखिएको “शितयुद्ध–२” ले एकपटक फेरी हामीलाई आजभन्दा झण्डै पाँच दशक अगाडि विपी कोइरालाले प्रतिपादन गर्नुभएको “राष्ट्रिय मेलमिलाप” को स्मरण गराएको छ । नेपाली जनता माझ कांग्रेस लोकतन्त्र र राष्ट्रियताको संरक्षक र संवर्धक हो भनी चिनिन्छ, तसर्थ वर्तमान समसामयिक राष्ट्रिय राजनीति, अन्तराष्ट्रिय राजनीति र राष्ट्रिय मुद्दाहरूमा कांग्रेसले आफ्‌नो गौरवशाली इतिहाँसलाई सम्झेर विवेकपूर्ण निर्णय लिएर अगाडि बढ्नुको विकल्प छैन ।

नेपाली राष्ट्रियता, धर्म संस्कृति र समृद्धिको लागि एकपटक फेरि नेपाली कांग्रेसमा पूर्नजागरणकाल जगाउनु पर्नेछ । यो तवमात्र सम्भव छ, जब कांग्रेसका साथीहरु जाग्नेछन । कांग्रेसका इमान्दार, निस्वार्थी र स्वाभिमानी साथीहरूको सक्रियता विना पार्टीमा इमान र नैतिकताको राजनीतिक भावधारा बगाउन संभव छैन । 

हामी सबै राजनीतिमा देखिएको विकृति विसंगतिको चर्चा गर्छौं । यसको उपचारको खोजी पार्टी भित्रबाट गर्नुपर्छ भन्ने मेरो मान्यता हो । पार्टीको अगुवाईमा “क्याम्पेन फर क्लिन पोलिटिक्स” को अभियान नचलाई बस्ने हो भने विपी कोइरालाले भन्नु भए झै कांग्रेस पार्टी “सुकिला मुकिला र पैसावालाको कब्जामा” जाने खतरा छ । र म त्यो देख्दैछु ।

नयाँ वर्ष २०८२ को नारा पार्टीमा क्लिन पोलिटिक्स भनी अगाडि नसार्दा नागरिकको विश्वास र भरोसा जित्न गाह्रो छ । कुशासन, भ्रष्टाचार, दण्डहिनता र अनियमितता संस्थागत भएर चुँडिदै गएको नागरिक र पार्टीको सम्बन्धलाई जोडन पार्टी भित्र शुद्धीकरण अभियान चलाउनुको विकल्प छैन । 

नेपालको संविधानलाई दक्षिणपन्थी भासबाट जोगाएर समसामयिक सुधार गर्दै अगाडि बढाउन कांग्रेसको तर्फबाट साथीहरू अगाडि आउनुपर्छ । यो वर्ष विधानतः कांग्रेस महाधिवेशनको वर्ष हो । कुनै कारण देखाएर कांग्रेस महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाती हुनेछ । यसतर्फ कांग्रेसका साथीहरूलाई चनाखो र सतर्क रहन पनि म अपिल गर्दछु । 

अन्तमा, एक पटक आफू र आफ्नो दल भन्दा “देश र जनता” माथि छन् भन्ने सोचले काम गरे मात्रै देशले निकास पाउनेछ । नयाँ वर्ष २०८२ हामी सबैको मुहारमा सुख, शान्ति र समृद्धि ल्याउन सफल होस भन्ने कामना गर्दै सबैमा शुभकामना व्यक्त गर्दछु । जय नेपाल ।  

डा शेखर कोइराला  
२०८२ वैशाख १ गते

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  ०६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update