Harsamaya
वृषको मोजमस्तीमा र खुशीमा समय बित्ने, मकरको सामाजिक काममा मन जाने
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - आज मिति २०८२ वैशाख १ गते ।  २०२५ अप्रिल १४ तारिख । वैशाख सङ्क्रान्ति । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४३ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २८ मिनेटमा हुनेछ । 

मेष 
अतिरिक्त क्रियाकलाप वा प्रतिभा प्रदर्शन गर्न अनुकूल समय छ । तर कलह र विवादको योग बनेको छ । त्यसैले कम बोल्नु ठीक हुन्छ । शारीरिक थकान र बेचैनीको समय हो । ससाना कुरामा चिन्ताग्रस्त भइने छ । सानातिना विषयमा चिन्ता गर्ने हुँदा आफूमात्र होइन, आफन्त र सँगीसाथीको तनावमा समेत वृद्धि हुने समय छ । कार्यक्षेत्रमा तन्मयताका साथमा खट्नुपर्ने दिन हो । अझ सेवाग्राहीसित कुनै विवाद भएमा ठूलो रूप लिनसक्छ । प्रतिद्वन्द्वीहरू मौका कुरेर बसेको देखिन्छ । 

वृष 
व्यक्तिगत खुसी, आनन्द र मोजमस्तीका निम्ति समय निस्कनेछ । आफ्नो अनुकूलता हेरी सबै कार्य सहज ढंगले गरिँदै जानेछन् । नयाँ ज्ञान सिक्ने मौका छ । धैर्य एवं लगनशील बन्नसके हाँके/ताकेको काममा सफलता मिल्नेछ । दिगो लगानीबाट फाइदा हुने दिन हो । सांसारिक सुखप्रतिको झुकाव बढ्नेछ । जुनियर स्टाफको अभावमा कारोबार प्रभावित बन्नसक्छ । तर घरका कनिष्ठ नातेदारको सहयोग लिन सकिने छ । 

मिथुन 
कुरा काट्नेहरूको सक्रियता बढ्न सक्छ । दिमाग भारी हुनसक्छ । तथापि बुढाबुढी वा परपाहुनाको सेवा र हेरचाह गर्नुपर्ने दिन हो । घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचो पर्नसक्छ । घोरिएर बस्नुभन्दा अभिभावकसमक्ष आफ्ना कुरा राखी निकास खोज्नु राम्रो हुन्छ । शरीर त स्वस्थ रहने छ, तर चिन्तामा वृद्धि हुने दिन हो । आफन्तको व्यवहार देखेर दिक्क लाग्नसक्छ । तथापि नौला व्यक्तिहरूसँग सम्पर्क बढ्ने र लाभ पाउन सकिने समय छ । 

कर्कट 
नयाँ प्रविधिको प्रयोगले ज्ञान र क्षमतामा वृद्धि हुनेछ । अझ कलात्मक विषयमा रुचि छ भने वरिष्ठ कर्मचारीलाई समेत प्रभावित तुल्याउन सकिने छ । एकआपसका सुखदुःख एवं चाहना बुझी कार्य गर्ने प्रयास गर्नुपर्छ । एकअर्काका त्रुटिप्रति सचेत हुने र माफ गरी अघि बढेमा सम्बन्ध मजबुत हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिने दिन हो । सामाजिक र राजनैतिक क्षेत्रको चासो बढ्नेछ । सांगठनिक काम वा साथीभाइको जमघटमा सहभागी हुन सकिन्छ । 

सिंह 
सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ । आम्दानीको पाटो सहज नै देखिन्छ । तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुनेछ । ताजगी र स्फूर्ति बढ्नेछ । नयाँ परिकार बनाएर खाने र खुवाउने विषयमा मन केन्द्रित हुनसक्छ । दिदीबहिनी वा माइतीपक्षसँग सम्बन्ध/सम्पर्क गर्ने दिन हो । विद्वान् र गुरुजनको सामीप्य र प्रेरणा पाउने समय हो । आन्तरिक प्रतिभाको उपयोग गरी वा अतिरिक्त क्रियाकलापद्वारा नाम चम्काउन सक्नुहुन्छ । 

कन्या 
दैनिक जीवन सहजताका साथमा बिते पनि कुनै कारणवश पतिपत्नीमा विचार नमिल्न सक्छ । तथापि समर्पण भाव र मायाप्रीति कायम नै रहने देखिन्छ । आफूलाई कमजोर या नजान्ने नठान्नु होला । मिहिनेत नै त्यस्तो साँचो हो । जसले असम्भवलाई पनि सम्भवमा परिणत गर्दछ । नयाँ उत्साह र उमङ्ग जाग्ने समय हो । खुसी र प्रसन्नताको सीमा हुनेछैन । विजय र सफलताले जताततै पछ्याउन सक्छ तर रिसराग, घमण्ड र अहंकारबाट टाढा रहनु ठीक हुन्छ । 

तुला 
जिम्मेवारी बढ्नाले व्यवहारिक काममा खट्नुपर्ने परिस्थिति छ । त्यसैले रामरौस र रोमान्टिक जीवनमा बाधा पुग्नेछ । सकेसम्म आपसी भेटघाट र भलाकुसारीलाई निरन्तरता दिनुहोला । मन केन्द्रित हुनेछैन । एकोहोरिने तथा खिन्नता बढ्ने कमजोर समय छ । कुनै यात्राको कार्यक्रम छ भने पनि निरस रहने छ । दौडधूप गर्नुपर्ने काम, ढुवानी/यातायात वा मार्केटिङमा राम्रो छ । तर काममा आफू स्वयं उपस्थित भएमा मात्र लाभ पाइने दिन हो । 

वृश्चिक 
वैदेशिक यात्रा वा छात्रवृत्तिका लागि प्रयास गर्दै हुनुहुन्छ भने नबुझेको/नजानेको विषयवस्तुका बारेमा अनुभवी र सिनियरसँग छलफल गर्ने समय हो । जीर्णोद्धार वा मर्मतसम्भार सम्बन्धी कार्यका लागि योजना बनाइने छ । अर्काको सहयोगका लागि केही समय प्रदान गर्नुपर्ने हुन्छ । तर प्रयास गरेमा अड्किएको वा फँसेको धन हात पर्ने दिन हो । रोकिएको काम बन्ने र पदीय दायित्वमा वृद्धि हुने दिन छ । खोजी गर्दा आम्दानीको नयाँ स्रोत पहिल्याउन सकिने छ । 

धनु 
आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न आजको दिन अनुकूल समय देखिन्छ । कुनै कुरामा दुबिधा भएमा अभिभावक वा बुजुर्ग व्यक्तिहरूसँग छलफल गरी अघि बढेमा काम गर्न सहजता हुनेछ । पुरस्कार प्राप्त गर्ने ग्रहयोग बनेको छ । त्यसैले आलस्य त्यागेर मिहिनेत गरेमा राम्रो उपलब्धि हासिल हुने दिन हो । प्रतिस्पर्धीसमेत सहयोग माग्दै तपाईंसामु आउनसक्छन् । भेटघाटको समयमा व्यक्तिगत उन्नति/प्रगति वा पद प्रतिष्ठाको चर्चा नगर्नु होला । नत्र सम्बन्धमा खाडल सिर्जना हुने तथा तनाव बढ्ने समय हो । 

मकर 
सामाजिक वा परोपकारी काममा मन जानेछ । भाग्यले साथ दिनेछ । बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । आर्थिक क्षेत्र सामान्य नै रहने देखिन्छ । व्यापारबाट र आर्थिक क्रियाकलापबाट सदा झैं फाइदा नै हुनेछ । नयाँ ठाउँमा लगानी गर्ने मनसाय छ भने अघि बढ्नु उचित हुन्छ । सार्वजनिक हित वा परोपकारी काममा खट्नुपर्ने समय छ । घरैको वा छरछिमेकको कुनै धार्मिक/सामाजिक काममा सहभागी बन्नुपर्ने हुन्छ । 

कुम्भ 
सरकारी निकाय वा प्रशासनिक कुनै कामले चिन्ता बढाउन सक्छ । बाहिर निस्कँदा कागजपत्र बोकेर हिंड्नु होला । नत्र झमेला आउने समय छ । सहयोगीको साथ पाइँदैन । ऐनमौकामा बन्नै लागेको काम पनि बिग्रनसक्छ । उता शरीरमा पनि कमजोरी देखिने छ । तथापि कारोबारमा आफैँ खटेको जाती हुन्छ । पारिवारिक वातावरण सामान्य रहने छ । घरायसी प्रबन्ध वा बन्दोबस्तीमा व्यस्त भइने छ । भावना र इच्छाहरूको कदर हुँदैन र मन अशान्त बन्नसक्छ । 

मीन 
कल्पनाशील र भावुक बन्ने दिन हो । फाल्तु कुरामा समय बिताउनुभन्दा काममा ध्यान दिने समय हो । थालेको कामलाई पूर्ण गर्ने प्रयास गर्नुपर्छ । नत्र तपाईंका अपेक्षाहरूमा कमी आउनसक्छ । कार्यालयमा नौलो कामको जिम्मा लिएर मज्जाले खट्नुपर्ने समय छ । तर आज घरपरिवार र जीवनसाथीको चाहनालाई मनन गरी समय दिनुपर्ने परिस्थिति सिर्जना हुनेछ । मस्ती गर्ने समय हो । पार्टनरको भावनालाई कदर गर्दै आज कतै रेस्टुरेन्ट वा भोजनालयमा गएर समय बिताउनु राम्रो हुन्छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  ०६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update