
जनकपुर - जनकपुरधाममा नेपाल सरकारविरुद्ध विरोध प्रदर्शन गरिएको छ ।
गत चैत्र १५ गत्ते काठमाडौंको तीनकुनेमा घटेको घटनामा सरकार स्वयम जिम्मेवार रहेको आरोप लगाउँदै जनकपुरधाममा सरकारकविरुद्ध विरोध प्रदर्शन एवम जुलुस निकालिएको हो ।
आइतबार नेपाल राष्ट्रवादी नागरिक समाज, धनुषाले जनकपुरधाममा सरकारविरुद्ध नारा लगाउँदै जुलुस निकालेको छ ।उनीहरूले ‘नेपाल सरकार मुर्दावाद’, ‘केपी चोर देश छोड’, ‘देउवा चोर देश छोड’, ‘प्रचण्ड चोर देश छोड’, ‘दुर्गा प्रसाईंलाई रिहा गर’, ‘हिन्दू राष्ट्र कायम गर’लगायतका नारा लगाउँदै नगर परिक्रमा गरेका छन् ।
तीनकुने घटनामा सरकारले स्वयम दमन गरेर अश्रु ग्याँस प्रहार गर्न लगाएको आरोप समाजका अध्यक्ष प्रकाशजंग राणाले लगाएका छन् । उनले राष्ट्रवादी नेताहरूलाई झुठा आरोप लगाउँदै मुद्दा चलाएर सरकारले जेल हालेको गलत रहेको बताएका छन् ।
पञ्चायतकालमा पनि यती धेरै अत्याचार नहुने गरेको भन्दै अध्यक्ष राणाले नेपाल सरकारलाई हाल थुनामा रहेका राष्ट्रवादी नेताहरुलाई तत्काल रिहा नगरे निरन्तर विरोध गर्ने चेतावनीसमेत दिए ।
जनकपुरधामको जनक चोकबाट राष्ट्रिय झण्डासहित निकालिएको जुलुसमा पाँचसय बढीको सहभागिता रहेको थियो ।