
काठमाडौं - हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधरणतया बदलीको अवस्था रहेको छ। कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
राती भने देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।