Harsamaya
कुम्भलाई सफलता मिल्ने, वृषको सबैले प्रशंसा गर्ने
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - आज २०८१ चैत ३१ गते आइतबार ।  २०२५ अप्रिल १२ तारिख । वैशाख कृष्ण प्रतिपदा । आज सूर्योदय बिहान ५ बजेर ४४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६बजेर २५ मिनेटमा हुनेछ ।

मेष 
परिबन्द वा बाध्यतामा धन खर्च हुने दिन हो । साथै मानप्रतिष्ठा र सम्मानमा पनि आघात पुग्नसक्छ । जोखिम र रिस्कमा कुनै काम नगर्नु होला । साथै जिम्मेवारीप्रति पनि हेलचेक्र्याइँ गर्नु हुँदैन । सेवाग्राही वा सिनियरसँग कुनै पनि बहसमा नअलमलिनु होला । नत्र सामान्य मानेको कुराले नै पछि तनाव बढाउने खतरा देखिन्छ । जिम्मेवारी बढ्नाले व्यवहारिक काममा खट्नुपर्ने परिस्थिति छ । त्यसैले रामरौस र रोमान्टिक जीवनमा बाधा पुग्नेछ । सकेसम्म आपसी भेटघाट र भलाकुसारीलाई निरन्तरता दिनुहोला । 

वृष 
मित्रवर्ग र कुलकुटुम्बसँग सहयोग आदानप्रदान गर्ने दिन हो । सानो प्रयासले घरायसी सुख र धनवैभव जम्मा पार्न सकिने छ । जोखिम मोलेर गरेको कामबाट फाइदा हुनेछ । बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ । जिम्मेवारीको भावना र कर्तव्यपालना देखेर सबैले तपाईंको प्रशंसा गर्नेछन् । आज परदेशमा रहेका आफन्तजन वा बिछोडिएका पुराना सँगीसाथीसँग पुनर्मिलन हुने समय हो । 

मिथुन 
मिहिनेत गर्नुपर्ने दिन हो । कुनै परीक्षा वा प्रतिस्पर्धामा सहभागी हुनुछ भने निराश नभई प्रयास गर्नुहोस् । रिजल्ट तपाईंको पक्षमा आउने छ । कर्तव्यप्रति सचेत हुने तथा जिम्मेवारी बोध हुने राम्रो दिन छ। सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ । अझ समाजसेवा वा राजनीति नै कार्यक्षेत्र हो भने मानसम्मान पाउन सक्नुहुन्छ । उच्चपदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ । कुनै पुरस्कार वा सम्मान पाउन सक्नुहुन्छ अथवा कुनै दूरगामी योजनाको कार्यान्वयन गर्ने विषयमा छलफल हुनसक्छ । 

कर्कट 
पारिवारिक बाध्यता वा कुनै सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने समय छ । तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ । परहीत र सामाजिक काममा दौडधूप हुनसक्छ । सेवाभावना र धार्मिक स्वभावको उदय हुनेछ । भोगविलास र सांसारिकताप्रतिको मोह घट्न सक्छ । जग्गाजमिन, ढुवानी, निर्माण सामाग्री आदि व्यवसाय छ भने राम्रो हुन्छ । आज कारोबारका अतिरिक्त धार्मिक पारम्परिक काममा पनि संलग्न हुन सक्नुहुन्छ । 

सिंह 
अस्वस्थताका बावजुद काममा जुट्नै पर्ने परिस्थिति छ । सुस्वास्थ्य र आरामका लागि समय छुट्याउनु तथा पौष्टिक आहारामा ध्यान दिनु ठीक हुन्छ । किताब, प्राक्टिकल र ल्यापटपमा मात्र घोरिएर दिमाग भारी हुने समय छ । एकाग्रताका लागि ध्यान, मेडिटेशन र योग गर्नु राम्रो हुन्छ । मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ । त्यस्तै अप्ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय हो । तर जोखिम र संकट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ । 

कन्या 
जागरूकता र इच्छा बढ्ने समय हो । तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ । कार्यक्षेत्रमा उच्च सफलता मिल्नुका साथै कल्पना र भावना केन्द्रित हुने तथा आत्मरतिमा भुलिने समय छ, तर अहिले जुनसुकै कुरामा अरुले के भन्दैछन् भनी चासो दिनु राम्रो हुन्छ । पेसागत सफलताका लागि प्रयास गरिने छ, त्यसबाहेक पारिवारिक जीवन, वैवाहिक सुख र प्रेम जीवनका निमित्त केही समय छुट्याउनु पर्ने दिन हो । 

तुला 
सज्जन, विद्वान र भद्रभलादमीको सङ्गत हुने राम्रो दिन छ । आज न्याय सम्पादन, प्रशासनिक क्षेत्र र राजनैतिक वृत्तका काम अघि सार्ने समय हो । खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ । तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नलाग्न सक्छ । पारिवारिक वातावरण सुखशान्तिले भरिपूर्ण देखिन्छ । पतिपत्नीका बीचमा उचित तालमेल कायम हुनेछ । यद्यपि एक अर्काको भावनाको कदर गर्नु समुचित हुनेछ । 

वृश्चिक 
भावुक र संवेदनशील बन्न सकिन्छ तर पनि बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नुपर्छ । जस्तै चुनौतीपूर्ण काम भए पनि सफलता मिल्नेछ । परीक्षा र प्रतिस्पर्धामा विजय प्राप्त हुने दिन हो । बुद्धिकौशल अर्थात् ट्रिकको प्रयोग गरी सफलता कमाउने दिन हो । समस्यामूलक कुनै काम छन् भने सिनियर स्टाफको होइन, जुनियर साथीको सहयोग लिनुपर्छ । व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका निम्ति समय निस्कनेछ । आफ्नो अनुकूलता हेरी सबै कार्य सहज ढंगले गरिँदै जानेछन् । 

धनु 
कर्यालयीय काममा खासै परिश्रम गर्नु पर्दैन । तर आज घरपरिवारका सदस्य, नातागोता वा आफन्तको भावनालाई समेट्न सकेमा मात्र थप सन्तुष्टि मिल्नेछ । लवपार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ। अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । मातृसुखमा प्रभाव पर्ने समय भएकाले घरमा सम्पर्क राखी आमाको स्वास्थ्य स्थितिबारे जानकारी लिनु ठीक हुन्छ । सहकर्मीसित असमझदारी बढ्नाले तनावको स्थिति बन्नसक्छ । 

मकर 
खटेअनुसार फाइदा बटुल्ने दिन हो । अझ रासायनिक वस्तुहरू, पेट्रोलियम, रङ र पेन्टिङको कारोबार छ भने बढी लाभ लिन सकिने छ । दाम्पत्य जीवनमा नयाँ आयाम थपिने छ । पुराना साथीभाइ र सहयोगीहरूसँग अप्रत्यासित भेटघाट हुनसक्छ । बहु प्रतीक्षित अभिलाषाको पूर्ति हुने समय छ । मिहिनेतको राम्रो नतिजा प्राप्त हुने समय हो । सोचेको उपलब्धि हात पार्नाले साथीभाइ र अभिभावकका बीचमा आत्मसम्मान झल्किने अवसर मिल्नेछ । 

कुम्भ 
अठोट र निर्णयहरूमा सफलता मिल्नेछ । अचानक कुनै यात्राको योजना पनि बन्नसक्छ, तर त्यसबाट पनि लाभ उठाउन सकिने दिन हो । मन फुरुङ्ग र हलुका हुने सुन्दर दिन छ । आज कुनै कुनै समयमा तपाईं अरू बेलाभन्दा अलि बढी कठोर भएको महसुस हुनेछ । प्रसिद्धि र सम्मानमा वृद्धि हुनेछ । गुरुजन, विद्वान एवं अनुभवी व्यक्तिहरूका साथमा घुलमिल हुन र सङ्गत गर्न पाइने छ । 

मीन 
आत्मोन्नति र व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो । त्यस्तै घरायसी सुख सुविधा, अचल सम्पत्ति र वाहन सुखका बारेमा समेत ध्यान केन्द्रित हुनसक्छ । पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ । रूप सौन्दर्य र व्यक्तित्वमा निखार आउने छ । गम्भीर स्वभावको उदय हुने समय छ । एक्लै बस्न र रमाउन मनपर्छ । पारिवारिक जीवन सुखद हुनेछैन । आशावादी हुनु निराशावादी हुनुभन्दा राम्रो हुन्छ । 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  ०६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update