
पोखरा - नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उनलाई कारबाही गरिने बताएका छन् ।
कास्कीमा शनिबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन हुने बताएका हुन । ‘त्यो कार्यक्रम हत्या, हिंसा, तोडफोड, आगजानी गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । त्यो सम्पूर्ण कामको जवाफदेही, त्यसको योजनाकार, मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्र थिए, जसलाई अब यथोचित प्रक्रियाबाट छानबिन हुन्छ भन्ने कुरा म जानकारी गराउन चाहन्छु,’ उनले भने ।
अराजकतावादलाई सघाउने र मलजल गर्ने काम गर्नु उचित नहुने पोखरेलको भनाइ थियो । देशलाई द्वन्द्व, हिंसामा लैजाने कुरा सरकारले राम्रोसँग बुझेकाले छानबिन गरेर सजाय दिने पोखरेलले बताए । ‘एउटा नागरिकले जसरी गलत काम गरेबापत दण्डको भागीदार हुनुपर्छ त्यस्तै किसिमले दण्डको भागिदार (पूर्वराजालाई) बनाउने छौं,’ उनले भने ।
उनले लोकतन्त्रको विकल्प वंश परम्परा र अनिर्वाचित सत्ता हुन नसक्ने बताउँदै लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हुने उनको भनाइ थियो । राजाको शासनकाल र राजतन्त्र ढलेपछि विकास र जनताको जीवनस्तरमा सुधार भएको पोखरेलले दाबी गरेका छन् ।
‘हिजो बाटो, स्कुल र अस्पतालको अवस्था के हो ? हिजो २५१ डलर प्रतिव्यक्ति भएकोमा अहिले १४ सय डलर पुगेको कसरी बिर्सन सक्छौं,’ उनले भने, ‘हिजो र आजको तुलना गर्दा यी सबै कुरा हेर्न आवश्यक छ ।’
उनले आगामी निर्वाचनमा एक्लै लड्ने गरी मानसिकता बनाउन कार्यकर्तालाई निर्देशन दिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालतर्फ इंगित गर्दै उनले ‘म्याजिक नम्बर’मार्फत अस्थिरता पैदा भएकाले त्यसको अन्त्य गर्न तत्काललाई कांग्रेससँग मिल्नुपरेको पोखरेलले बताए ।
शिक्षा विधेयक र निजामति सेवा विधेयक वर्तमान सरकारले बर्खे अधिवेशनबाट पारित गर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए । स्थायी कमिटी सदस्य थममाया थापाले बोलेका थिए ।