Harsamaya
सीईओ जोशी भन्छन् : ’ग्रिन इकोनोमी’मा पर्यटन क्षेत्रको ठूलो योगदान छ 
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी ।

काठमाडौं - नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले ‘ग्रिन इकोनोमी’का लागि पर्यटन क्षेत्रको ठूलो योगदान रहेको बताएका छन् ।

नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको ‘पर्यटन क्षेत्रमा वातावरण प्रदूषणको असर’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा बोल्दै वातावरण प्रदूषणका कारण नेपालको सुन्दर छविलाई छोप्नसक्ने जोखिम रहेको बताएका हुन् । 

उनले भने, ‘पछिल्लो वर्षहरूमा नेपालमा जलवायु परिवर्तनका असरहरू बढ्न थालेका छन् । यसले वायु प्रदूषण हरेक वर्ष बढिरहेको छ । जसले पर्यटन क्षेत्रले नोक्सानी व्यहोर्नुपर्ने स्थिति सिर्जना भएको छ । अन्य निर्माण तथा उद्योगहरूले वायु प्रदूषणका लागि योगदान गरिरहेका छन् । तर, पर्यटन उद्योग मात्र यस्तो हो, जसले ग्रिन इकोनमीका लागि योगदान गरिरहेको छ ।’ 

नेपालमा जलवायु परिवर्तनका लागि न्यून योगदान भएपनि बढी नोक्सानीको सामना गर्नुपरेको सीईओ जोशीले बताएका छन् । 

उनले थपे,‘अहिले विश्वमा नेपाल प्राकृतिक सुन्दरताको मुलुकको छवि बनाएको छ । तर, पछिल्ला वर्षहरूमा नेपाल बढेको वायु प्रदूषणका कारण सुन्दर मुलुकको छवि छोपिदिएको छ ।’ जोशीले सरकारले पनि पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । 

उनले भने,‘नेपालको जीडीपीमा बढी योगदान गरिरहेको पर्यटन क्षेत्रले १० लाखभन्दा बढी मानिसलाई प्रत्यक्ष–अप्रत्यक्ष रोजगार दिएको छ । त्यसकारण सरकारले पर्यटन क्षेत्रबाट अझै लाभ लिनका लागि जलवायु परिवर्तनका जोखिम गराउने, वातावरण प्रदूषणलगायतका पर्यटनलाई असर गर्ने गतिविधि कम गर्दै लैजाने र नीतिगत सुधारतर्फ केन्द्रित हुनुपर्ने देखिन्छ ।’

नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष चन्द्र शेखर कार्कीले जलवायु प्रदूषणलाई सामान्य रूपमा लिन नहुने बताए । उनले यस्तो संवेदनशील विषयमा संघ संस्थाहरूसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा पर्यटन, वातावरण क्षेत्रका विज्ञ, पत्रकार तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update