Harsamaya
सबै नेता उस्तै भन्नु गलत :प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै नेता उस्तै भन्नु भाष्य गलत भएको बताएका छन् । 

शनिवार वर्तमान परिवेशमा कुरा गर्दा उनले भष्ट्रचारका विरुद्ध अभियान चलाउने सरकार र भ्रष्टाचारीलाई  बचाउनका लागि सम्पूर्ण चीज गर्ने सरकार उस्तै भन्नु गलत र अवैज्ञानिक रहेको बताएका हुन् । 

‘जसरी सबै नेता उस्तै भन्ने छ त्यो गलत छ भन्ने मेरो भनाई छ । मेरो त गहिरो आरोप छ । मान्छेहरूले यस्तो किन भन्छन्,’उनले भने । 

उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधारको क्षेत्रमा मध्य पहाडी लोकमार्ग र उत्तर दक्षिण करिडोरको प्रस्ताव ल्याएको भन्दै दोस्रो पटकमा लोडसेडिङ्गको अन्त्यदेखि संविधान कार्यान्वयनको ऐतिहासिक प्रक्रियाको नेतृत्व गरेको बताए । 

सबै उस्तै भन्नु गलत भन्दै भने ‘म सुशासन, सामाजिक न्याय र समृद्धि भनेर भ्रष्टाचारकाविरुद्ध यत्रो अभियान चलाउने पनि उस्तै । भ्रष्टाचारीलाई बचाउनको लागि सम्पूर्ण चीज गर्ने पनि उस्तै भन्ने भाष्य जो बनाइएको छ । मान्छेले भन्ने गरेका छन् नेतातन्त्र, तीन जना नेता भन्ने गरेका छन् यो नै वैज्ञानिक छैन । कुन नेता कति राम्रो कति नराम्रो हरेकको अलग अलग छानबिन हुनुपर्यो । गम्भीर नागरिक, बुद्धिजीवीहरूले सबैको गुण दोषको आधारमा गर्नुपर्ने ठाउँमा सबैलाई एउटै डालोमा हाल्नु अवैज्ञानिक छ ।’ 

उनले ऐतिहासिक रेकर्ड बनाउने सरकार र रेकर्ड भत्काउने सरकार उस्तै नहुने बताए । 


 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update