Harsamaya
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पर्वत जिल्लाका अधिकांश कृषकले लप्सीका दाना बिक्री गर्दै आएका छन्। लप्सीको उत्पादन बढी हुने यस जिल्लामा, फलेवास–४, मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सी संकलन गरी अचार, माडा बनाउने तथा क्यान्डीका लागि गुदी निकालेर राख्ने काम गरिरहेको।

पर्वत - यस वर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न कृषकहरूलाई भ्याइनभ्याइ छ । नेपालमै सबैभन्दा बढी लप्सी उत्पादन हुने पर्वत जिल्लाका अधिकांश कृषकले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास– ४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ ।

यो उद्योगले लप्सीबाट माडा, अचार, क्यान्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्यान्डीलगायत परिकार बनाउँदै आएको छ । विगत डेढ दशकदेखि लप्सी प्रशोधन गर्दै आएको उद्योगले यस वर्ष झन्डै रु. ७० लाखबराबरको कारोबार गर्ने लक्ष्य राखको छ । उद्योगमा यस वर्ष झन्डै ६० टन लप्सी प्रशोधनको तयारी गरिएको छ ।

गाउँगाउँबाट लप्सी संकलन गर्ने र अचार, माडा बनाउने तथा क्यान्डीका लागि गुदी निकालेर राख्ने काम भइरहेको उद्योगका सञ्चालक थानेश्वर भुसालले जानकारी दिए । पर्वतमा झन्डै दुई सय मेट्रिक टन लप्सी उत्पादन हुने भए पनि ३० प्रतिशत मात्र प्रशोधन गर्न सकिएको उनको भनाइ छ । बाँकी केही कृषकहरूले बोटबाटै दाना बिक्री गर्दै आएका छन् भने जनशक्तिको अभावले टिप्न नसक्दा बोटमै खेर जाने गरेको भुसालले बताए ।

जनशक्ति र प्रविधिको अभाव तथा पर्याप्त बजार नहुँदा उत्पादित सबै लप्सी प्रशोधन गर्न नसकिएको सञ्चालक भुसालको भनाइ छ । कोरोना संक्रमणमा अमेरिका, अस्ट्रेलिया, हङकङगायतका देशमा समेत निर्यात गरेको भए पनि अहिले भने स्वदेशकै बजारमा निर्भर हुनुपरेको उनको भनाइ छ । भुसालले सञ्चालन गरेको उद्योगमा सातजनाले रोजगारी पाएका छन् । लप्सीसँगै अमला, अदुवालगायत परिवार बनाएर हुने कुल आम्दानीबाट खर्च कटाएर वर्षमा रु. १० देखि १२ लाखसम्म बचत हुने गरेको उनले बताए ।

चार वर्ष पहिले उत्पादित लप्सीका दश लाखबराबरका परिकारहरू अमेरिका पठाएका भुसालले नेपालमा भन्दा पनि बढी विदेशमा माग रहे पनि अहिले पठाउने संयन्त्र नरहेको बताए । नेपालीहरूले विदेश फर्किँदा कोसेली र पाहुरको रूपमा लैजानेबाहेक व्यावसायिक हिसाबले उद्योगबाटै होलसेलमा विदेश पठाउन नसकिएको उनको भनाइ छ ।

जिल्लाका झन्डै ४० वटा वडामा लप्सीको उत्पादन हुँदै आएको छ । कुनै बेला जंगलमा त्यसै झरेर कुहिने लप्सी पछिल्लो समय प्रशोधन गर्न थालेपछि आम्दानीको राम्रो स्राेत बनेको हो । वनपाखामा त्यसै खेर जाने लप्सीबाट आम्दानी गर्न सकिने भएपछि लप्सीको व्यावसायिक खेती समेत सुरु भएको छ । सामुदायिक खाद्य प्रशोधन उद्योगले कृषकलाई लप्सी खेतीतर्फ आकर्षित गर्नका लागि निःशुल्क बिरुवासमेत वितरण गर्दै आएको छ ।

उद्योगमा लप्सीसँगै अदुवा, अलैँची, अमला, बेसार, टिमुर, खुर्सानीलगायतको प्रशोधनसमेत हुँदै आएको छ भने पछिल्लो दुई वर्षयता मकैको सातु उत्पादनबाट समेत लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेको सञ्चालक भुसालले बताए । लप्सी, अमला र अदुवा सिजनको वेलामा प्रशोधन हुने भए पनि मकै, भटमास, बदामलगायतको मिक्स सातु बाह्रैमास उत्पादन हुने सञ्चालक भुसालले बताए ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  २०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update