काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले कांग्रेस सत्तामा भएपनि सरकारमा नभएको बताएका छन् ।
शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले सरकारले जनताको चाहना बुझ्न नसकेको र असल सुशासन दिन चुकिरहेकाले एमाले भोलिको प्रतिस्पर्धी पार्टी भएकाले खबरदारी गर्न नछाड्ने बताएका हुन् ।
उनले भने,‘राजनीतिमा धेरै कुरा हुन्छ । हालको सरकारका सवालमा पनि धेरै कुराहरू छन् । अहिलेको सरकार नेपाली काँग्रेस सम्मिलित सरकार हो र यसमा हामी पनि छौँ । तर मैंले एउटा कुरा भन्दै आइरहेको छु–हामी सत्तामा छौँ तर सरकारमा छैनौँ किनभने हाम्रो प्रतिस्पर्धी जुनसुकै ठाउँमा एमाले हुन्छ । हामी अहिले एमालेसँग सहकार्य गरेर अगाडि बढिरहेका छौं । यसलाई म खराब भन्दिन् । तर सरकारले गलत वा कमजोरी गरिरहेको छ की भनेर खवरदारी गरिराख्नुपर्छ भन्ने हो । खवरदारी गरेनौं भने कांग्रेसलाई अप्ठ्यारोमा पर्नसक्छ । त्यसैले हामी सत्तामा छौं तर सरकारमा छैनौं । सरकारमा हुनेहरूले सहकार्य गरेरै जानुपर्ने आवश्यकता छ, अर्को उपाय छैन,’उनले अगाडि भने,‘सरकारले संविधान पुनरावलोकन, संशोधन गर्ने कुरा गरेको छ । त्यसैले यसमा ढिला गर्न मिल्दैन । जति ढिलाइ हुन्छ, त्यति सडक आक्रोशित हुन्छ । सुशासन दिलाउन सकिएको छैन्, दण्डहीनता बढेको बढ्यै छ । यसलाई कन्ट्रोल गर्न जरुरी छ ।’
साथै उनले संविधान संशोधन गर्ने भन्ने कुरा सेलाएको बताए । कोइरालाले अहिले सडकमा उठिरहेका धेरै माग संविधान संशोधनबाट पुरा गर्न सकिने बताए ।