Harsamaya
युवा साहित्य महोत्सव २०२५ मा विनिता तामाङ प्रथम  
एमाले निकट राष्ट्रिय युवा संघले आयोजना गरेको युवा साहित्य महोत्सव २०२५ ।

काठमाडौं - एमाले निकट राष्ट्रिय युवा संघले आयोजना गरेको युवा साहित्य महोत्सव २०२५ समापन भएको छ । 

२०८१ चैत्र २५ देखि २९ गतेसम्म सञ्चालन भएको साहित्य महोत्सवमा विभिन्न विधामा प्रतियोगिता भएको थियो । साहित्य सम्मेलनअन्तर्गत विभिन्न विधामा उत्कृष्ट युवाहरुलाई शुक्रबार पुरस्कृत गरिएको थियो ।

साहित्य महोत्सव अन्तरगत ४० वर्षमुनिका युवाहरूलाई लक्षित गरेर आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा भक्तपुर मल्टिपल क्याम्पसकी विनिता तामाङ प्रथम भएकी थिइन् । उनले १ लाख रुपैयाँ जितिन् । दिग्विजय लामिछाने दोस्रो र इशा थापा तेस्रो हुँदै ५० हजार र ३० हजार रुपैयाँ जितेका थिए ।

निबन्धतर्फ मनोज बुढा प्रथम हुँदै ५० हजार रुपैयाँ जितेका थिए भने दोस्रो भएकी ज्योति घिमिरेले ३० हजार र देबु गिरीले तेस्रो हुँदै २० हजार रुपैयाँ जितिन् । 

यस्तै, गजल विधामा प्रथम दिपिन सिजापति भएका थिए । प्रथम स्थान हासिल गरेका सिजापति  नगद पुरस्कार ५० हजार रुपैयाँ प्राप्त गर्न सफल भएका छन् । गजल तर्फ नै दोस्रो स्थान हासिल गर्दै अंकित आचार्यले नगद ३० हजार रुपैयाँ प्राप्त गरेका छन् । साथै तेस्रो स्थान हासिल गर्दै खिमा नन्द जोशीले २० हजार रुपैयाँ  पुरस्कार पाएका छन् । 

यसैगरी, कविता प्रतियोगिता तर्फ जीवन आरोहीले पहिलो स्थान हासिल गर्दै ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए । दोस्रो स्थान हासिल गर्दै रबिना कँडेलले ३० हजार  नगद पुरस्कार  प्राप्त गरिन् भने तेस्रो स्थान हासिल गर्दै सन्तोष पौडेलले २० हजार  रुपैयाँ पुरस्कार  प्राप्त गर्न सफल भए  । उक्त प्रतियोगितामा १००० जनाको  सहभागिता रहेको थियो । 

कार्यक्रममा युवा वैज्ञानिक निश्चल बानियाँ र डा. प्रकाश महतलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update