Harsamaya
सागसब्जी फलाएर जीविकोपार्जन गर्दै
बागलुङको काठेखोला गाउँपालिका–८, लेखानी गाउँमा प्लास्टिकका टनेलभित्र व्यावसायिक रूपमा तरकारी खेती गर्दै।

बागलुङ - बागलुङको काठेखोला गाउँपालिका– ८ लेखानी गाउँ बसाइँसराइका कारण बिस्तारै रित्तिँदै छ । हुनेखानेहरू सहरबजार झरेपछि गाउँमा अहिले न्यून आय भएका परिवार मात्रै छन् । गाउँमा बस्दै आएका स्थानीयले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्नुका साथै जीविको चलाउँदै आएका छन् । गाउँका झन्डै एक सय घरपरिवार तरकारी खेतीमा आबद्ध छन् ।

उनीहरूलाई स्थानीय सरकार तथा विभिन्न संघसंस्थाले प्राविधिकसहित तालिमको सहयोग र अनुदानसमेत दिने गरेका छन् । लेखानी गाउँको टोल–टोलमा प्लास्टिकका टनेल भेटिन्छन् । छरिएर रहेको गाउँमा किसानले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएपछि उनीहरूको जीवनस्तरमा पनि सुधार आउन थालेको छ ।

गत वर्ष गाजा फाउन्डेसनले ५० परिवारलाई तरकारी खेती गर्ने तालिम र अनुदान दिएको थियो । त्यसपछि गाउँमा तरकारी खेती गर्नेको लर्को लाग्न थालेको छ । तरकारी बेचेरै यहाँका धेरैले दैनिकी चलाउने गरेका छन् । यहाँका किसानले उत्पादन गरेको तरकारी बागलुङमा खपत हुने गरेको छ । पहिले कोदो, मकै र दोरी फल्ने बारीमा अहिले गोलभेँडा, बन्दा, काउली र साग उब्जिरहेका छन् ।

गत वर्ष असारमा दिइएको तरकारी खेतीसम्बन्धी तालिमले किसानलाई व्यावसायिक बन्न प्रेरित गरिरहेको छ । तरकारी खेती गर्न थालेपछि परिवारको आर्थिक अवस्था उकासिएको स्थानीय पम्पी कँडेलले बताए । तरकारी बेच्न थालेपछि परिवारको खर्च चलाउन सहज बन्दै गएको उनको भनाइ छ ।

‘गाउँ छोड्दै बजार झर्ने धेरै छ, गाउँमा सम्भावना केही छैन भन्छन्, अहिले हामीहरूले यहाँ धेरै सम्भावना देखेका छौँ, हामीहरूसँग सामान्य तरकारी खेती गर्ने सीप पनि रहेनछ, त्यही भएर बजार झर्दा रैछौँ,’ उनले भने, ‘अहिले गाउँका अधिकांशले टनेल हालेर तरकारी खेती गर्न थालेका छौँ, धेरै तरकारी लगाउनेले लाखौँ आम्दानी गर्छन्, हामीहरूले एकसरो लगाउन र बिहान–बेलुकाको छाक टार्न अरूको मुख ताक्नुपर्ने अवस्था छैन ।’

पहिले परम्परागत रूपमा तरकारी खेती गर्दा उत्पादन बढाउन नसकेको भन्दै अहिले वार्षिक पाँच लाखभन्दा बढीको तरकारी बिक्री गर्ने गरेको स्थानीय लीलाधर कँडेलले बताए । आफूले एक दशकदेखि नै तरकारी खेती गर्दै आएको सुनाउँदै गत वर्षदेखि खेतीलाई थप विस्तार गरेको उनको भनाइ छ । पहिले गाउँमा तरकारी बेच्ने चलन नभएको सुनाउँदै पछिल्लो समय किसान व्यावसायिक बन्दै गएको कँडेलले बताए ।

उनले भने, ‘हामी किसानका लागि तालिम, प्राविधिक र बिउ नभई हुँदैन, विभिन्न संघसंस्थाहरूले सहयोग गर्नुभएको छ, व्यावसायिक बन्न सिकियो, पहिला–पहिला हाम्रा बाउबाजेका पालामा तरकारी पनि बेच्छन् भन्थे, अहिले त्यही तरकारीले परिवार चलेको छ, बजारका लागि धेरै समस्या छैन, कहिलेकाहीँ भनेअनुसारको बजार नपाउँदा दुःख लाग्छ ।’

नेपाल गाजा डेपलभमेन्ट फाउन्डेसनकी सामाजिक परिचालिका यमुना बस्यालले लेखानीका किसानले तरकारी खेतीसम्बन्धी तालिम लिएपछि व्यावसायिक रूपमा लाग्ने महिला बढेको बताइन् । फाउन्डेसनले किसानलाई तालिमसहित टनेल, बिउ र कृषिसम्बन्धी अन्य उपकरण उपलब्ध गराएको उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update