
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त गर्ने सेवाहरू बारेको विवरण सार्वजनिक गरेको छ ।
मन्त्रालयले निःशुल्क प्राप्त गर्ने सेवा, सेवा प्राप्त गर्ने लक्षित समूह, प्राप्त गर्ने स्थानलगायतका विवरण पनि सार्वजनिक गरेको छ ।
मन्त्रालयले नयाँ डिजाइन गरेको आफ्नो वेबसाइटमा निःशुल्क सेवासम्बन्धी विवरणहरू र त्यसका लागि थप कागजात चाहिने वा नचाहिने जानकारी पनि विवरणमा छ ।
मन्त्रालयले नागरिकलाई सरकारी स्वास्थ्य संस्थामार्फत आधारभूत उपचार निःशुल्क उपलब्ध गराइरहेको छ । यसैगरी, मृगौला रोग, मुटु रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया तथा जलन उपचार सेवा अन्तर्गत विभिन्न उमेरसमूहका बिरामीलाई विभिन्न खालका सेवा निःशुल्क दिइरहेको छ । यसका लागि सेवा प्राप्त गर्ने स्थानको जानकारीसहित कागजात चाहिने भएमा त्यससम्बन्धी विवरणसमेत राखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकले प्राप्त गर्ने निःशुल्क उपचार पारदर्शी र सबैले थाहा पाउने गरी जानकारी राख्न भनेका थिए । सोही आधारमा मन्त्रालयले नयाँ डिजाइन गरिएको वेबसाइटमा विस्तृत विवरण खुलाएको हो ।
नागरिकले प्राप्त गर्ने उपचार सेवा सबैको पहुँच र जानकारीमा होस् भन्ने हाम्रो चाहना हो, मन्त्री पौडेलले भने,सूचनाको अभावमा कसैलाई कठिनाइ नहोस् भनेर विवरण सबैले प्राप्त गर्न सहज हुने गरी सार्वजनिक गर्ने व्यवस्था मिलाएका छौं ।
मन्त्री पौडेलले यसअघि संघीय अस्पताल तथा मेडिकल कलेजहरुलाई सेवा शुल्कसम्बन्धी विवरण वेबसाइट तथा अस्पतालमा सबैले देख्ने गरी राख्ने व्यवस्था मिलाउन भनेका थिए । सोही आधारमा अधिकांशजसोले यस्तो विवरण नागरिकले थाहा पाउने गरी राखेका छन् ।