
काठमाडौं - आज २०८१ चैत ३० गते शनिवार । चैत शुक्ल पूर्णिमा । आज सूर्याोदय बिहान ५ बजेर ४५ मिनेटमा हुनेछ भने सूर्यास्त सूर्यास्त साँझ ६ बजेर २६ मिनेटमा हुनेछ ।
मेष
मनोरञ्जन र खेलवाडले लक्ष्यप्राप्तिमा कठिनाइ उत्पन्न गर्नेछ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । प्रगतिका निमित्त सचेत र संयम हुनु ठीक हुन्छ । शंकालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्नसक्छ । भावना प्रधान दिन हो । सकेसम्म एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ । थोरैमात्र प्रयास गर्दा प्रशस्त लाभ उठाउन सकिने राम्रो समय छ । कुनै भौतिक उपकरण वा विलासिताको चिजबीज खरिद गर्न सक्नुहुन्छ ।
वृष
कार्ययोजना र व्यवस्थापन पक्षमा समन्वय गरी अघि बढ्दा थप लाभ हुनेछ । अर्काको जिम्मामा काम छाडेर अन्त भुलिने हुँदा काम बिग्रन सक्छ । मान्यजनसँग निकटता बढ्ने वा उहाँहरूलाई आदरभाउ गर्नुपर्ने दिन हो । दाजुभाइ वा माइतीपक्षसँग समेत सम्पर्क गरी भलाकुसारी गर्नु ठीक हुन्छ । दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्नेछ । कुनै समसामयिक विषयका बारेमा साथीहरूसँग छलफल गर्ने र गम्भीर भएर जानकारी बटुल्ने दिन हो ।
मिथुन
निर्णय लिन सक्नुपर्छ, नबन्ने काम पनि बन्नेछन् । व्यक्तित्व विकासमा मद्दत पुग्नेछ । आफन्त र सहकर्मीसँगको सम्बन्धसमेत मजबुत बन्नेछ । विवाद वा मतभेद छ भने पनि समाधानको बाटो पहिल्याउनु होला । गरेको कामको सर्वत्र प्रशंसा हुनेछ । सिनियर स्टाफ र सेवाग्राही दुवै पक्षलाई सन्तुष्ट तुल्याउन सकिने छ । कुनै उपहार वा सम्मान प्राप्त गर्ने सम्भावना छ । मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा अझ हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय हो ।
कर्कट
अत्यन्त सुखभोग गर्न पाइने छ । प्रतिभा, दक्षता र योग्यता प्रदर्शन गर्नाले राम्रो परिणाम प्राप्त हुनेछ । महत्त्वपूर्ण व्यक्तित्व र विद्वान्हरू सम्पर्कमा रहनेछन् । उधारोमा गएको धन वा ऋणकारोबार मुख्य विषय बन्नसक्छ । यद्यपि चिकित्सा क्षेत्र, औषधी, काष्ठ, फर्निचर आदि कारोबार छ भने प्रशस्त लाभ पाउन सक्नुहुन्छ । आफन्त र प्रियजनसँग भेटघाट हुनाले आनन्दित भइने छ । जीवनसाथीलाई प्रसन्न तुल्याउने प्रयास गर्नुहोस् । प्रसन्नतामा अझ वृद्धि हुनेछ ।
सिंह
महत्त्वाकांक्षी र आशावादी बन्नु सकारात्मक पक्ष हो । तर खेलवाड र मनोरञ्जनमा भुलिँदा वा कुनै लापरबाहीले भविष्यमा पछुतो मान्ने परिस्थिति बन्नसक्छ । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिँदैन । हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्न सक्दैनन् । चुनौती र जोखिम झेल्ने समय भएकाले टार्न सकिने ठाउँ छ भने काम स्थगित गरी दिमागी उल्झन घटाउनु तथा विश्राम लिनु जाती हुन्छ ।
कन्या
बौद्धिक सामर्थ्यका आधारमा समान विचारधारा भएका व्यक्तिहरू आकर्षित बन्नेछन् । मित्रताका वा साझेदारीका लागि अनुकूल समय छ । तर आफूभित्रका आवेगलाई नियन्त्रण गर्दै अनुशासनको दायरालाई पालना गर्नु महत्त्वपूर्ण मानिन्छ । पदोन्नति हुने वा विशेष जिम्मेवारी पाउन सकिने समय हो। कामविशेषले कतै काजमा जाने वा देश/विदेशको यात्रामा निस्कने संयोग जुरेको छ । सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन् । आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ । पार्टनरसँग सानोतिनो यात्राको कार्यक्रम बन्नसक्छ ।
तुला
कारोबारमा राम्रै प्रतिफल प्राप्त हुनेछ, कुनै नयाँ प्रस्ताव वा योजना छ भने साझेदार र प्रतिस्पर्धीसँग अन्तरक्रिया गरी अनुभव बटुल्नु महत्त्वपूर्ण मानिन्छ । घरायसी रमझम र काम धामबाट फुर्सद निकाल्न सकिंदैन । कामकाजी महिलाले कार्यक्षेत्रमा उन्नति गर्नेछन् । तर पनि पारिवारिक जिम्मेवारी बढिरहने समय हो । कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ । परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् ।
बृश्चिक
आफ्नो क्षेत्रमा साख र इज्जत कमाउने दिन हो । सहयोगीहरूको समेत साथ पाउनाले आत्मबल र हिम्मत पलाउने राम्रो समय छ । शरीर हलुका र मन प्रसन्न रहनेछ । लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ । गरिआएको कामधन्दा र पेसामा उन्नति हुने र सम्मान पाउने समय हो । ज्ञान र सीप बढाउने मनसाय बन्नसक्छ । त्यस्तै ठूलाबडा र विद्वान्हरूका साथमा घुलमिल हुने अवसर मिल्नेछ ।
धनु
पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समय होइन । केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुन्छ । दायित्व र बोझ बढ्दै गएको आभास हुनेछ । सानो काम भए पनि बढी नै परिश्रम गर्नुपर्ने हुनसक्छ । उता स-साना कुराका कारण सहकर्मीका बीचमा विवाद बढ्ने सम्भावना देखिन्छ । सहयोगीको साथ पाइँदैन, ऐनमौकामा बन्नै लागेको काम पनि बिग्रन सक्छ । उता शरीरमा पनि कमजोरी देखिने छ, तथापि कारोबारमा आफैँ खटेको जाती हुन्छ ।
मकर
सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्य सुख बढ्नेछ, साथीभाइ र मित्रवर्गले पनि साथ दिने समय छ । कला, साहित्य र अभिनयका क्षेत्रमा रुचि बढ्ने दिन हो । तथापि अहिले बाह्य विषयवस्तुमा भन्दा पनि निर्धारित पाठ्यक्रममा ध्यान केन्द्रित गर्नुपर्ने समय हो । नयाँ मित्रता वा सम्बन्धका बारेमा मन उत्सुक रहने छ, तर कुनै पनि बाचाबन्धन नगर्नु राम्रो हुन्छ । आत्मीय मित्र वा विपरीतलिङ्गी सहकर्मीको साथ पाउनाले चिताएको काममा सफलता मिल्नेछ ।
कुम्भ
दैनिक कामहरू सजिलै सम्पन्न हुनेछन् । होचोहेला गर्ने र कुरा काट्नेहरू आफै चुप लाग्नेछन् । तथापि झगडा र कलहबाट टाढिएको जाती हुन्छ । प्रतिस्पर्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तयारी गरेको राम्रो हुन्छ । ताकेको काम सम्पन्न हुनेछ । सानातिना विवादको बेवास्ता गर्दै अघि बढ्नुपर्छ । शत्रु र प्रतिद्वन्द्वीसँग सतर्क रहने समय हो । त्यस्तै रिस र घमण्ड बढ्नाले पनि अप्ठ्यारोमा पर्न सकिन्छ ।
मीन
मनको कुरो साथीले बुझिदिंदा आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ । एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो । बुद्धिको सही प्रयोग गरी प्रतिष्ठा आर्जन गर्न सकिने राम्रो दिन छ । तर कल्पना र भावनामा मन रुमल्लिन् सक्छ । सचेतताका साथमा काममा लागी पर्नु ठीक हुन्छ । सांसारिक सुख प्रतिको झुकाव बढ्नेछ । जुनियर स्टाफको अभावमा कारोबार प्रभावित बन्नसक्छ । तर घरका कनिष्ठ नातेदारको सहयोग लिन सकिने छ ।