काठमाडौं - भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले पछिल्लो समय सरकार वातावरणमैत्री यातायात विकासलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलनमा उनले नेपालमा केही भएको छैन् भन्ने गलत भाष्यलाई चिर्नको लागि सरकारले वातावरणमैत्री यातायात र सडक निर्माणमा गरिरहेको बताए ।
उनले भने, ‘वातावरणमैत्री यातायातको बारेमा पछिल्लो समय बढि प्राथमिकतामा रहेको छ । जलवायु परिवर्तनले पनि धेरै क्षेत्रमा प्रभाव पारेको छ, त्यही भएर अहिले वातावरणमैत्री यातायात विकासमा बढि ध्यान दिएका छौ । वातावरणमैत्री सडक निर्माणमा पनि हामी अगाडि बढेका छौ । नेपालमा केही भएको छैन् भन्ने भाष्य निर्माण गर्न खोज्ने मान्छेहरुलाई गलत सावित गर्न पनि लागि परेका छौ ।’
यस्तै, उनले सम्मेलनले भविष्यको लागि नवीनतम, दिगो यातायातको व्यवस्थाको लागि महत्वपूर्ण सुझावहरु दिने आशा गरेको पनि बताए ।
सम्मेलन ‘सुरक्षित, स्थिर, कुशल तर्फ केन्द्रित नियमित गतिशीलता’ भन्ने मूल नाराका साथ आयोजना भएको हो ।
सम्मेलनमा दिगो सहरीकरण, नविनतम यातायात प्रविधि, यातायातको व्यवस्थामा नीतिको भूमिका बारेमा प्यानलगत रुपमा छलफल पनि हुनेछ ।