काममाडौं - राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले चीन नेपालको लागि एक असल छिमेकी हुनको साथै महत्वपूर्ण व्यापारिक साझेदार, लगानीकर्ता र विकास साझेदारको रूपमा उभिएको बताएका छन् ।
शुक्रबार नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव समारोहको अवसरमा आयोजित नेपाल चीन आर्थिक तथा व्यापार सम्मेलनमा बोल्दै उनले चीनियाँ बजारमा नेपाली उत्पादनको पहुँच विस्तार, सीमा नाकाबाट सुलभ, आगमन तथा डिजिटल व्यापारको प्रवर्द्धनले दुई देशबीचको आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
उनले भने,‘चीन नेपालको लागि एक असल छिमेकी हुनको साथै महत्वपूर्ण व्यापारिक साझेदार लगानीकर्ता र विकास साझेदारको रुपमा उभिएको छ । चीनियाँ बजारमा नेपाली उत्पादनको पहुँच विस्तार सीमा नाकाबाट सुलभ,आगमन तथा डिजिटल व्यापारको प्रवर्द्धनले दुई देशबीचको आर्थिक सम्बन्धलाई अझ मजबुद बनाउन मद्दत गर्ने मैले विश्वास लिएको छु ।’
त्यस्तै उनले सम्मेलनले नेपाली कृषि हस्तकला पर्यटन जस्ता क्षेत्रहरु चिनियाँ बजारमा पहुँच बढाउने पनि विश्वास जनाए । चीनको प्रविधि र अनुभवबाट सिक्न र डिजिटल अर्थतन्त्रको विकासमा सहकार्य गर्नतर्फ सम्मेलनले सबैलाई प्रेरित गर्ने उनको भनाइ छ ।
‘यो सम्मेलनले नेपाली कृषि हस्तकला पर्यटन जस्ता क्षेत्रहरु चिनियाँ बजारमा पहुँच बढाउन सडक ऋण र उर्जालगायतका परियोजनामा चीनियाँ लगानी भित्र्याउन चीनको प्रविधि र अनुभवबाट सिक्न र डिजिटल अर्थतन्त्रको विकासमा सहकार्य गर्न तर्फ हामी सबैलाई प्रेरित गर्ने मैले विश्वास लिएको छु,’उनले भने
त्यस्तै कार्यक्रममा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चीनले नेपाललाई विभिन्न क्षेत्रको विकासको लागि सहयोग गरेको भन्दै यसले गर्दा नेपाल एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको बताए ।
दुई देशबीचको सहकार्य र सहयोगलाई बलियो बनाउदैँ आधुनिक र निरन्तर रुपमा सुरक्षित व्यापारलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।
उनले भने,‘चीनले नेपाललाई विभिन्न क्षेत्रको विकासको लागि सहयोग गरेको छ, यसले गर्दा नेपाल एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ । दुई देशबीचको सहकार्य र सहयोगलाई बलियो बनाउदैँ जानुपर्छ । आधुनिक र निरन्तर रूपमा सुरक्षित व्यापार गर्नुपर्छ ।’
नेपाल र चीनबीचको सम्बन्ध राजनीतिक सम्झौताको रुपमा बनेको मात्र नभई सांस्कृतिक इतिहासले, एकआपसको सम्मान र सद्भावले बनेको भन्दै आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा पनि हातेमालो गर्दै अगाडि बढेको बताए ।
उनले भने,‘नेपाल र चीनबीचको सम्बन्ध राजनीतिक सम्झौताको रूपमा बनेको मात्र नभई सांस्कृति इतिहासले, एकआपसको सम्मान र सद्भावले बनेको सम्बन्ध हो । हाम्रो यो सम्बन्ध शताब्दी पुरानो हो । हामी छिमेकी हौं र हाम्रो संस्कृतिहरुमा पनि समानता छ । आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा पनि हामी हातेमालो गर्दै अगाडि बढेका छौं ।’