
काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले तीनै तहको सरकारबीच तालमेल मिलाएर काम गर्नसके विकासको रफ्तार बढ्ने बताएका छन् ।
शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा.महतले मझौला योजनाहरुलाई प्रदेश सरकारको नेतृत्वरमा गर्नुपर्ने धारणा राखे ।
उनले साना योजना स्थानीय तह र ठूला योजना केन्द्र सरकारलेमात्र गर्ने गरी तालमेल मिलाएर काम गर्नसके देशमा विकासको रफतार अझ बढ्ने बताए ।
उनले तीनै तहको सरकारबीच समन्वय मिलाउन सकेमा सुशासन सुनिश्चित हुनुका साथै जनताका आवश्यकता र अधिकारलाई कार्यान्वयन गर्न सजिलो हुने उल्लेख गरे ।
नेपाली कांग्रेसले अहिले आर्थिक नीतिलाई लगानीमैत्री र रोजगारीमैत्री बनाउनेतर्फ लागेको डा.महतले जानकारी दिए । उनले कानुनी शासन अझ सार्थक बनाउन, संस्थागत गर्न, पारदर्शिता सुनिश्चित गर्न र भ्रष्टाचारलाई ठाडै नकार्ने लक्ष्यका साथ नेपाली कांग्रेसले काम गरिरहेको बताए ।
डा.महतले तराई क्षेत्रमा कृषिको रुपान्तरण र उद्योग व्यवसायीको विकासतर्फ नेपाली कांग्रेस गम्भीर रहेको धारणा राखे । उनले सिचाइँको समस्या समाधानका लागि कमला डाइभर्सन र मरिन डाइभर्सनले ठूलो भूमिका खेल्ने बताए । उनले बिउ बिजन र मलको समस्या समाधान गर्न सरकारले पाँचवटा नयाँ कानुन पारित गरेको जानकारी दिए ।
डा.महतले जनकपुरधामको सरसफाई र हरियालीमा ध्यान दिन मेयर मनोज कुमार साहसंग आग्रहसमेत गरे । उनले जनकपुरधाम धार्मिक नगरी भएकोले यहाँको सरसफाइमा ध्यान दिए यस ठाउँको गरिमा अझ बढ्ने बताए ।