
काठमाडौं - आज २०८१ चैत २९ गते शुक्रबार । आज सूर्योदय बिहान ५:४५ बजे भने सूर्यास्त साँझ ६:२६ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौको सातु खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।
मेष
कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ । जीवनसाथीले आफ्नो विवशता नबुझिदिंदा झन दिक्क लाग्नसक्छ । तर वृद्धवृद्धाको सद्भाव र सहानुभूति बटुल्न पाइने छ । क्षमता र सीपको सही मूल्यांकन हुने समय हो । पेसा, व्यवसाय वा क्यारियरका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठीक हुन्छ । काम र कर्तव्यप्रति दिलचस्पी जाग्नेछ। नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो । व्यक्तित्व निर्माण वा प्रतिष्ठा वृद्धिको कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो हुन्छ ।
वृष
अचानक परिस्थिति फेरिएर इच्छाएको जिम्मेवारी प्राप्त हुनेछ । वैकल्पिक आम्दानीका निमित्त कुनै नयाँ कारोबारप्रति आकर्षण देखाएमा समेत लाभ पाउन सकिने छ । पारिवारिक बाध्यता वा कुनै सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने समय छ । तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ । बौद्धिक र ज्ञानमूलक विषयमा रुचि बढ्ने एवं शुभचिन्तकहरूको साथ पाइने राम्रो दिन छ । सुखद समाचार सुन्न पाउँदा दिन प्रेरणास्पद बन्नेछ ।
मिथुन
परिस्थिति विपक्षमा रहेकाले यति वेला कुनै पनि नयाँ निर्णय लिनु हुँदैन । बरु व्यवस्थापन पक्ष र कामदारहरूका बीचमा सन्तुलन कायम राख्ने प्रयास गर्नुहोला । चिन्ता/शंका र डरले जरो गाड्नेछ । दिक्क लागेको छ भने बरु एकान्तमा बस्नु वा आध्यात्मिक गतिविधिमा सहभागिता जनाउनु राम्रो हुन्छ । वातावरण तपाईंको विपक्षमा भएको दिन हो । आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठीक हुन्छ ।
कर्कट
व्यक्तित्वमा निखार आउने छ । धेरैको मन लोभ्याउन सकिने र प्रेमिल भावना विकसित हुने दिन हो । तर आत्मकेन्द्रित भइदिनु र आफ्ना बारेमा मात्र सोच्नुले नजिकका आफन्तहरू टाढिने परिस्थिति बन्नसक्छ । पेसागत सफलताका लागि प्रयास गरिने छ । त्यसबाहेक पारिवारिक जीवन, वैवाहिक सुख र प्रेम जीवनका निमित्त केही समय छुट्याउनु पर्ने दिन हो । मस्ती गर्ने समय हो, पार्टनरको भावनालाई कदर गर्दै आज कतै रेस्टुरेन्ट वा भोजनालयमा गएर समय बिताउनु राम्रो हुन्छ ।
सिंह
जीवनसाथी वा प्रेयसीसँग लामो कुराकानी वा सम्बन्ध सम्पर्क हुने दिन हो । उता आयका दृष्टिले पनि थप धन आर्जन गर्न सकिने समय छ । ऊर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेसामा आबद्ध कारोबारीका लागि राम्रै दिन रहनेछ । तर पनि मस्तिष्कलाई आराम हुने समय छैन । घमण्ड र जिद्दीपना त्याग्न सकेमा तर्क र बहसमा विजय प्राप्त हुनेछ । खिसीट्युरी गर्नेसित सतर्क रहनुपर्छ । नत्र ठूलो कलहको वातावरण बन्नसक्छ ।
कन्या
छोराछोरीले काममा सघाउनेछन् । दैनिक कामबाट फाइदा नै हुनेछ । थोरै भए पनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ । प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने राम्रो दिन छ । कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाउन सक्नुहुन्छ । सीपमूलक शिक्षा र प्राविधिक विषयमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो । परिश्रमी र लगनशील भएमा मात्र भाग्यले समेत साथ दिनेछ ।
तुला
कार्यालयीय काममा खासै परिश्रम गर्नु पर्दैन । तर आज घरपरिवारका सदस्य, नातागोता वा आफन्तको भावनालाई समेट्न सकेमा मात्र थप सन्तुष्टि मिल्नेछ । लवपार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ । अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । ज्ञान र क्षमता बढाउन उपयोगी दिन छ । उता घरमा समेत सम्पर्क राखी भाइबहिनी वा छोरारछोरीको चासो राख्नु राम्रो हुन्छ ।
वृश्चिक
घरपरिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइने छ । त्यस्तै पारिवारिक जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने दिन छ । अध्ययनमा रुचि जाग्नेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुन्छ । उपलब्धिमा सँगीसाथी, गुरुजन र अभिभावकको समेत महत्त्वपूर्ण सहयोग मिल्नेछ । बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ । त्यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिने छ । आध्यात्मिक मनोभावको विकास हुनेछ । साथै मन्दिर वा स्मारकको भ्रमणबाट शान्तिको अनुभूति हुनेछ ।
धनु
परीक्षा, प्रतियोगिता वा प्रतिस्पर्धामा विजय प्राप्त गर्ने दिन हो । मिहिनेत गर्न सकेमा पठनपाठनका दृष्टिले पनि आज उत्कृष्ट दिन बन्नसक्छ । धनप्राप्तिको योग बनेको छ । स्थिर प्रयोजनको लगानीका लागि अनुकूल समय छ । पछिसम्म फाइदा हुने कुनै काम सम्पन्न हुनेछ । बहुमूल्य वस्तु र पुराना चीजबीज संकलन गर्न मन लाग्छ । उपहार वा धन प्राप्त हुने दिन हो । त्यस्तै सिनियर कर्मचारी वा हाकिमसमेत खुसी हुनेछन् । कुनै काम फुत्काउनु छ भने प्रयास गर्नुहोला
मकर
पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ । रूप सौन्दर्य र व्यक्तित्वमा निखार आउने छ । आयको मार्ग सबल छ, तर बोली र व्यवहारमा निकै सतर्कता अपनाउने समय हो । कुरा काट्नेहरूले तपाईंको छिद्र खोतल्ने प्रयास गर्नेछन् । आफूस्वयं पनि राम्ररी खट्ने तथा सहयोगीको समेत सक्रियता बढ्नाले आम्दानीको नयाँ स्रोत पहिल्याउने दिन हो । नयाँ लगानीप्रति आकर्षण देखाउँदा राम्रो हुनेछ ।
कुम्भ
जिम्मेवारी बढ्नाले व्यवहारिक काममा खट्नुपर्ने परिस्थिति छ । त्यसैले रामरौस र रोमान्टिक जीवनमा बाधा पुग्नेछ । सकेसम्म आपसी भेटघाट र भलाकुसारीलाई निरन्तरता दिनुहोला । मनमा शान्ति र मुहारमा कान्ति छाउने सन्तोषजनक समय छ । प्रियजनसँग भेटघाट हुनेछ अथवा आश मारेको वस्तु वा धन हात पार्न सकिने छ । सफलता हासिल गर्न प्रतिस्पर्धामा जानुपर्ने समय छ । कारोबारमा पनि लगानी बढाउनुपर्ने परिस्थिति देखिन्छ । तथापि अहिलेको लगानीले पछिलाई फाइदा पुग्नेछ ।
मीन
रिजल्टको प्रतीक्षामा हुनुहुन्छ भने आशाअनुरूप परिणाम प्राप्त हुनेछ । आशावादी बनेर लक्ष्यप्रति केन्द्रित भएमा हाँके/ताकेका काम पूरा गर्न सजिलो हुनेछ । लगनशीलता र मिहिनेतको पुरस्कार हातपार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ । रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछन् । शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरवृद्धिको नयाँ अवसर मिल्नसक्छ । आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुनेछ ।