
रौतहट - रौतहटको राजपुर नगरपालिकामा भएको आगलागीमा साढे १२ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
राजपुर नगरपालिका–६ बस्ने प्रमोद साह कलवारको मोटरसाइकल वर्कशप, सोही नगरपालिका ५ बस्ने शेख एकरामुलको पान पसल, रहमत अलीको मिठाई पसल र बसको टिकट काउन्टरमा बुधबार राति आगोलागी भएको हो ।
जिल्ला प्रहरी कार्यलय रौतहटका अनुसार मन्जर आलमले सञ्चालन गरेको बस टिकट काउन्टरमा विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । टिकट काउन्टरमा रहेको कुर्सी, टेवल तथा कागजपत्र जलेर नष्ट भएको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी मोटरसाइकल वर्कसपमा क्षती पुगेको छ ।
आगलागीबाट वर्कसपमा रहेका टायर, मोबिल, हावाभर्ने टंकीलगायत १० लाख बराबरको क्षति पुगेको उनको भनाइ छ । नजिककै रहेको पान पसलमा समेत आगोलागी हुँदा एक लाख बराबरको क्षति भएको रौतहट प्रहरीले जानकारी दिएको छ ।
आगलागीको घटनाका बारेमा जानकारी पाउनका साथ प्रहरी टोलि घटना स्थलमा पुगेको थियो । सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आगोमा जलेर आगलागीबाट करिब १२ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भै रहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।