
नयाँ दिल्ली - मुम्बई हमलाको मास्टर माइन्ड तहब्बुर राणालाई लिएर आएको विशेष विमान बिहीबार दिउँसो दिल्लीको पालम विमानस्थलमा उत्रिएको छ ।
भारतीय मिडियाका अनुसार अब एक छिनमा एनआईएले उनलाई पक्राउ गर्ने प्रक्रिया अघि बढाएको छ। अमेरिकाले उनलाई भारत सुपुर्दगी गरिदिएको हो ।
समाचार एजेन्सी आइएनएसको रिपोर्ट अनुसार तहब्बुर राणालाई कडा सुरक्षामा एयरपोर्टबाट एआइए को मुख्यालयमा लगिनेछ, जहाँ मेडिकल टोलीले कानुनी प्रक्रिया अनुसार उनको मेडिकल जाँच गर्नेछ।
केन्द्रीय मन्त्री पियुष गोयलले भने, ‘आजको दिन धेरै महत्त्वपूर्ण छ। सन् २००८ मा मुम्बईमा आतंकवादी हमला भएको थियो। हामीले त्यो हमलाका आरोपी तहव्वुर राणालाई भारत फिर्ता ल्याएका छौं। प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको निरन्तर प्रयासले यो सफल भएको हो।’
राणालाई भारतको कानुनबमोजिम कडा कारबाही गरिने छ र अहिंसाका साथसाथै हिंसा गर्नेलाई कारबाही गर्नु पनि उत्तिकै जरुरी छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार सम्भवतः उनलाई तिहाड जेलमा राखेर थप कारबाही गरिनेछ । उनीविरुद्ध मुम्बइमा आतंकवादी हमला गराउन मुख्य भूमिका खेलेको आरोप छ । झन्डै ४०० पृष्ठको आरोप पत्रमा उनी दोषी भेटिएका छन् ।