Harsamaya
कालोमोसो दलियो’ भनेर गलत प्रचार गरियो, चरित्र हत्या गर्न खोजियो : प्रमुख कर्ण
रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका प्रमुख प्राडा वसन्त कुमार कर्ण ।

जनकपुर - त्रिभुवन विश्वविद्यालय अन्तर्गतको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका प्रमुख प्राडा वसन्त कुमार कर्णले आफूमाथि चैत २१ गते भएको ‘कालोमोसो प्रकरण’लाई अतिरञ्जित गरिएको भन्दै घटनाको वास्तविकता सार्वजनिक गरेका छन् ।

जनकपुरधाममा बिहीबार पत्रकार सम्मेलनमार्फत क्याम्पस प्रमुख कर्णले घटनाको पृष्ठभूमि, योजनाबद्ध षड्यन्त्र र आन्तरिक शैक्षिक माफियाहरुको भूमिकाबारे १२ बुँदे विवरण सार्वजनिक गरेका हुन् ।

कर्णले सो दिन बेलुका ४ बजेको समयमा विज्ञान भवनबाट मोटरसाइकलमा बाहिर निस्कने क्रममा आफूलाई लुगामा मसि छर्किएको सामान्य घटनालाई ‘कालोमोसो दलियो’ भनेर अनावश्यकरूपमा प्रचार गरिएको दाबी गरेका छन् । उनले यो प्रकरण योजनाबद्ध रूपमा आफ्नो चरित्र हत्या गर्ने र मानसिक दबाब सिर्जना गरी राजीनामा दिन बाध्य पार्ने षड्यन्त्र रहेको बताए ।

कर्णले भने, ‘त्रिभुवन विश्वविद्यालयको इतिहासमै पहिलोपटक खुल्ला प्रतिस्पर्धाबाट योग्यता आधारित नियुक्ति पाएको म एक जना अल्पसंख्यक समुदायबाट आएको प्रमुख हुँ । मलाई असफल साबित गर्न विगतदेखि नै विभिन्न हतकण्डा अपनाइँदै आएको छ ।’

उनले क्याम्पसमा व्यापक परीक्षा सुधार तथा अनियमितता नियन्त्रणका लागि उठाइएका कदमहरु, सबै कक्षा र प्रशासनिक कोठामा सिसिटिभी जडानले आन्तरिक शैक्षिक माफियालाई असहज बनाएको बताए । सँगै, निजी शिक्षण संस्थाहरुलाई केन्द्र बनाएर परीक्षा केन्द्र सार्ने प्रयासलाई रोक्दा पनि धेरैको स्वार्थमा चोट पुगेको उनले जनाए ।

‘परीक्षा प्रणाली मर्यादित बनाइँदै जाँदा विद्यार्थीहरु अध्ययनमा केन्द्रित भएका छन् । तर, केही शिक्षकहरू भने निजी शिक्षण संस्थालाई प्राथमिकता दिँदै क्याम्पसको पठनपाठन बिथोल्ने प्रयत्नमा लागेका छन्,’उनले भने ।

कर्णले छात्रसंघ चुनावको टिकट नपाएका केही असन्तुष्ट विद्यार्थी नेताहरु र उमेरहद कटेका नेताहरूको उक्साहटमा सातवटै विद्यार्थी संगठनहरूले तालाबन्दी गरिरहेको र त्यसकै आडमा शैक्षिक वातावरण विथोल्ने र अव्यवस्था सिर्जना गर्न खोजिएको आरोपसमेत लगाए ।

घटनाका योजनाकार क्याम्पसकै सहायक लेखापाल संजय कुमार दास रहेको बताउँदै कर्णले लेखापाल दासले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्तिको संरक्षण गर्न र आफूविरुद्धको अभियानलाई अगाडि बढाउन बाहिरी तत्व र केही विद्यार्थीहरूलाई समेत प्रयोग गरेको आरोप लगाए । ‘यी सबै प्रयासहरू मलाई मानसिक तनावमा पारेर राजीनामा गराउने योजनाको हिस्सा हुन्,’कर्णले भने ।

उनले घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग आग्रह गर्दै क्याम्पसको शैक्षिक मर्यादा र सुधार प्रयासलाई कुनै हालतमा कमजोर नपारिने प्रतिबद्धता जनाए । उनले यस्ता घटनाबाट नडराई अझ दृढताका साथ सुधारको यात्रामा अघि बढ्ने बताए ।
 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update