Harsamaya
युक्रेनविरुद्ध १५५ चिनियाँले युद्ध लडिरहेको भेटियोः जेलेन्स्की
युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्की

काठमाडौं - युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसी सेनाका लागि १५५ चिनियाँ नागरिकले लडिरहेको दाबी गरेका छन् ।

आफ्ना युक्रेनी गुप्तचरहरूको छानबिन उदृत गर्दै जेलेन्स्कीले युक्रेनविरुद्ध लडिरहेका चिनियाँहरूको वास्तविक संख्या अझ यो भन्दा धेरै हुन सक्ने दाबीसमेत गरेका छन। जेलेन्स्कीले बुधबार कीभमा पत्रकारहरूसँग कुराकानी गर्दै यो दाबी प्रस्तुत गरेका हुन् । 

उनका अनुसार रूसले सामाजिक सञ्जालमार्फत चिनियाँ नागरिकहरूलाई आफ्नो सेनामा भर्ती गरिरहेको छ । र, चिनियाँ अधिकारीहरू पनि रूसको यो प्रयासहरूका बारेमा जानकार रहेका छन् ।

उनले यो पनि भने कि युक्रेनविरुद्ध लड्न चिनियाँहरूको यो भर्ती अभियान बेइजिङबाट निर्देशित छ कि छैन ? त्यसको खोजी गरिरहेको छ ।

‘युद्धमा चिनियाँ संलग्नताको मुद्दा गम्भीर छ, नाम र राहदानी विवरण सहित १५५ व्यक्तिहरू फेला परेका छन्, जो युक्रेनको भूमिमा युक्रेनीहरू विरुद्ध लडिरहेका छन्,’ जेलेन्स्कीले भने, ‘हामी यो पनि विश्वास गर्छौं कि तिनीहरू अझ धेरै नै छन्।’

जेलेन्स्कीले मंगलबार मात्रै युक्रेनी सेनाले युक्रेनी भूमिमा रुसी सेनासँग लडिरहेका दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको जानकारी दिएका थिए । युक्रेनले युद्धमा चिनियाँ लडाकुहरूबारे यस्तो दाबी गरेको यो पहिलो पटक थियो ।

उता, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बुधबार पत्रकार सम्मेलनमा भने कि धेरै चिनियाँ नागरिकहरू युक्रेन विरुद्ध लडिरहेका छन् भन्ने आरोप पूर्णतया आधारहीन रहेको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । 

‘चिनियाँ सरकारले सधैं आफ्ना नागरिकहरूलाई सशस्त्र द्वन्द्वका क्षेत्रहरूबाट टाढा रहन रे कुनै पनि रूपमा सशस्त्र द्वन्द्वमा संलग्न हुनबाट जोगिन आग्रह गरेको छ,’ उनले भने । रूसले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update