
जनकपुर - मधेश प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले आफूमाथि लागेका कमिसन सम्बन्धी आरोपहरूलाई खारेज गर्दै ती आधारहीन, भ्रामक र कपोलकल्पित भएको स्पष्ट पारेका छन् ।
विभिन्न संचारमाध्यममा मन्त्री साहको नाम जोड्दै मधेश प्रदेश सरकारका विकास योजनामा कमिसन लिएको भनी प्रकाशन र प्रसारण गरिएको समाचारप्रति मन्त्री साहको गम्भीर ध्यानाकर्षण भएको छ । मन्त्री साहले प्रेस विज्ञप्ति जारी गर्दै उक्त आरोपहरू राजनीतिक पूर्वाग्रहका आधारमा बनाएको दाबी गरेका छन् ।
प्रेस विज्ञप्तिमा सिरहा जिल्लाको मिर्चैया नगरपालिका–११ मा रहेको घुर्मि खोलामा तटबन्ध निर्माण सम्बन्धी योजना बिक्री गरिएको भनी सार्वजनिक समाचारप्रति पनि खण्डन गरिएको छ ।
मन्त्री साहका अनुसार हालसम्म उक्त योजनाको लागि वडा कार्यालयमा कुनै पत्राचार नभएको र उपभोक्ता समिति पनि गठन नभएकाले योजना बिक्री वा कमिसनको प्रश्न नै उठ्दैन ।
मन्त्री साहले जनमत पार्टी नेतृत्वको प्रदेश सरकार सुशासन र भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको मार्गमा रहेको उल्लेख गर्दै, पार्टीको लोकप्रियताले त्रसित केही समूहले मन्त्रीको चरित्र हत्या गर्न यस्ता आरोप लगाएको आरोप समेत लगाएका छन् ।
मन्त्री साहले यस प्रकारका समाचार प्रकाशन गर्दा यथार्थ र प्रमाणमा आधारित भएर मात्र प्रकाशन गर्न आग्रह गरेका छन् । मन्त्री साहले यदि आफूमाथि लगाइएको कुनै पनि आरोप प्रमाणित भएमा कानुनबमोजिम कारबाही भोग्न तयार रहेको स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन् ।