काठमाडौं - संगीत प्रेमीहरूका लागि अर्को मनछुने गीत ‘फूल फूल्यो’ सार्वजनिक भएको छ। हिमालयको काख, नुवाकोटको रमणीय दृश्यमा छायांकन गरिएको यस गीतले प्रेम, जीवन र मानवीय संवेदनाको गहिरो अनुभूति दिलाउँछ।
गीतमा सुमधुर स्वर दिएकी छिन् गायिका तारा अधिकारी, जसले यसअघि पनि आफ्ना भावनात्मक गीतमार्फत श्रोताको मन जितेकी थिइन् शब्द रचना संचारकर्मी, गीतकार तथा कवि राधिका अधिकारीको रहेको छ । जसले समाजप्रतिको जिम्मेवारी र मानवता झल्काउने गीतहरू सिर्जना गर्ने परिचय बनाएकी छन्। यस गीतमा संगीतकार दीपक शर्माको सिर्जनशील संगीत छ, भने संविन सुवेदीले संगीत संयोजन गरेका छन्।
गीत ‘फूल फूल्यो फक्रियो’ केवल प्रेम गीत नभई जीवनको गहिरो अनुभूति हो । यो गीत जीवनको बीचतिर पुगेपछि अथवा अधबैँसे भएपछि जीवन सम्झेर आफ्नो प्रेमी/श्रीमान्सँग विगत सम्झेर गरेको कुराकानीमा आधारित भएको गीतकार अधिकारीले बताइन् । यही भावनालाई दृश्यमा उतारेका छन् निर्देशक प्रहिल कार्कीले । जसले प्रेमिल जोडी स्मारिका ढकाल र सागर खनालमार्फत कथा प्रस्तुत गरेका छन्।
माधव बेलबासेको सम्पादन र रंग संयोजनले भिडियोको सौन्दर्यलाई थप निखार दिएको छ । भूपेन्द्र थापा मगरको क्यामेरा संचालनले नुवाकोटको सुन्दरता दर्शकसम्म जीवन्त ढंगले पुर्याएको छ।
विन्ध्यवासिनी म्युजिक मार्फत सार्वजनिक गरिएको यो म्युजिक भिडियोले श्रोतामा एक फरक स्वाद ल्याएको छ। सामाजिक सन्देश, प्रेम र प्रकृतिको समिश्रणसहितको गीत अहिले चर्चामा आउने बाटोमा अग्रसर देखिन्छ।
२०७२ सालमा ‘किनारा’ नामक एकल एल्बमबाट सांगीतिक यात्रा सुरु गरेकी अधिकारीले समयसँगै आफ्ना गीतहरूमा गहिरो परिपक्वता र संवेदना भर्न सफल भएकी छन्। दर्जनभन्दा बढी गीतहरू सार्वजनिक गरिसकेकी अधिकारीको सिर्जनामा केवल मनोरञ्जन होइन, समाजप्रति उत्तरदायित्व र जीवनका विविध आयामको चित्रण स्पष्ट देखिन्छ।