
सिन्धुपाल्चोक - जिल्ला स्तरीय ११औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चौतारा साँगाचोकगढी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना चौताराको टुँडिखेलमा भएको प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिकाले ३० स्वर्ण, २० रजत र ७ कास्य सहित उपाधि जितेको हो ।
१० स्वर्ण, ८ रजत र ८ कास्य पदक जित्दै बाह्रबिसे नगरपालिका दोस्रो हुँदा, ७ स्वर्ण, १० रजत र ८ कास्य पदकसहित भोटेकोशी गाँउपालिका तेस्रो भएको छ ।
१२ स्थानीय तह मध्ये त्रिपुरासुन्दरी, पाँचपोखरी , लिसंखुपाखर र सुनकोशी गाउँपालिकाले प्रतियोगितामा सहभागिता जनाएको थिएनन् । सुनकोशी गाउँपालिकाले यो वर्ष पालिका स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नै गरेन ।
प्रतियोगितामा तेक्वान्दो, कराते, उसु, भलिबल, एथलेटिक्स र कबड्डी गरी ६ सय विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।
खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले स्थानीय सरकारले समेत खेल र खेलाडीको विकासका लागि विभिन्न योजना अघि बढाउनु पर्ने बताएका थिए।