Harsamaya
सीमा अपराध नियन्त्रण गर्न दुई देश सहमत 
नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको बैठक ।

रौतहट - नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको बैठकमा सीमा अपराध नियन्त्रण तथा अन्य विविध विषयमा छलफल भएको छ ।

भारत बिहार प्रान्तको सीतामढीमा सोमबार दुई देशका सुरक्षा पदाधिकारीहरू बीच बैठक बसेको हो । संयुक्त बैठकमा दुवै देशका सुरक्षा अधिकारीहरू सीमा क्षेत्रमा हुने चोरीका सवारी साधनको अवैध पैठारी, मानव बेच-बिखन, लागू औषध ओसारपसार जस्ता अवैध व्यापार र जाली नोटको कारोबार रोक्न सहमत भएको छ । 

बैठकमा सीमा सुरक्षा र अपराध नियन्त्रण, मानव बेचबिखन, मदिरा तथा लागू औषध ओसारपसार, अवैध मुद्राको कारोबार नियन्त्रण विषयमा आपसी सहयोग र समन्वयका लागि छलफल भएको रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिए।

जघन्य अपराध गरी एक अर्को देशमा लुकेर बसेका अपराधीका बारेमा सूचना आदानप्रदान गर्न, अवैध हातहतियारको कारोबारलाई नियन्त्रण गर्न र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न दुवै देशका सुरक्षाकर्मी सक्रिय रहने सहमति भएको उनले उल्लेख गरेका छन् ।

संयुक्त बैठकमा नेपाल तर्फबाट रौतहट, सर्लाही र महोत्तरीका जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बल नेपालका प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक, भन्सार कार्यालयका प्रमुखहरूका साथै भारतको तर्फबाट सीतामढी जिल्लाका मुख्य जिल्ला अधिकारीहरूको नेतृत्वमा पुलिस अधीक्षक, भन्सार प्रमुख तथा एसएसबीका अधिकारीहरू, लागू औषध नियन्त्रण अधिकारी लगायतकाहरूको सहभागिता रहेको थियो । 

उक्त बैठकमा दुबै देशका सुरक्षासंग जोडिएका विषयमा छलफल एवंम समन्वयका आधारमा कार्यहरू अघि बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यलय रौतहटले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update