गाजा - इजरायलले हमास समूहले सम्भावित आदानप्रदान सम्झौताको पहिलो चरणमा रिहा गर्न तयार रहेको घोषणा गरेका ३४ जना बन्धकको अवस्था हालसम्म उपलब्ध नगराएको बताएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इजरायलले अहिलेसम्म सूचीमा रहेका बन्धकहरूको स्थितिबारे हमासबाट कुनै टिप्पणी प्राप्त गरेको छैन।”
विज्ञप्तिमा भनिएको छ, “बन्धकहरूको सूची हमासद्वारा इजरायललाई प्रदान गरिएको थिएन तर इजरायलले जुलाई २०२४ मा मध्यस्थहरूलाई दिएको थियो।”
मध्यस्थकर्ता कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले गाजा पट्टीमा इजरायल र हमासबीचको युद्ध अन्त्य गर्न महिनौंदेखि सम्झौता गर्ने प्रयास गरिरहेका छन्।
हालैका दिनहरूमा दुवै पक्षका वार्ताकारहरूले दोहामा अप्रत्यक्ष वार्ता गरिरहेका छन्।
हमास समूहले ३४ जना बन्धकलाई रिहा गर्न सहमति जनाएको समूहका एक वरिष्ठ अधिकारीले आइतबार राति एएफपीसँग बताए ।
“हमासले पहिलो चरणको कैदी आदानप्रदान सम्झौताको एक भागको रूपमा इजरायलले दिएको सूचीबाट ३४ जना इजरायली कैदीहरूलाई रिहा गर्न सहमत भएको छ,” ती अधिकारीले भने।
हमासका अर्का एक अधिकारीले नाम नबताउने शर्तमा भने, “प्रारम्भिक अदलाबदलीमा गाजामा रहेका सबै महिला, बालबालिका, वृद्धवृद्धा र बिरामी बन्दीलाई समावेश गरिनेछ ।”
यसका लागि हमासलाई आफ्नो अवस्था पत्ता लगाउन समय चाहिने उनले बताए ।
“हमासले जीवित वा मृत ३४ जना कैदीलाई रिहा गर्न सहमत भएको छ”, ती अधिकारीले भने, “यद्यपि, समूहलाई अपहरणकारीहरूसँग कुराकानी गर्न र जीवित र मरेका व्यक्तिहरूको पहिचान गर्न कम्तीमा पनि एक हप्ताको युद्धविराम हुनुपर्छ ।“
सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणका क्रममा प्यालेस्टिनी लडाकूहरूले २५१ जना बन्धकहरूलाई कब्जामा लिएका थिए, जसमध्ये ९६ जना अझै पनि गाजामै रहेका र तीमध्ये ३४ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।