Harsamaya
देश विकास राजाको पालामा मात्र भएको ज्ञानेन्द्र शाहीको दाबी
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एवम् पार्टी प्रवक्ता ज्ञानेन्द्र शाही ।

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एवम् पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्ना छोराछोरीहरूलाई युरोप अमेरिका पठाएर जनताका छोराछोरीहरूलाई विश्वविद्यालयमा ढुंगा हान्न सिकाएको आरोप लगाएका छन् ।

मंगलबार राप्रपाको खबरदारी सभा सम्बोधन गर्दै उनले नेताका छोराछोरी युरोप अमेरिका पढ्न पठाउने अनि जनताका छोराछोरी त्रिभुवन विश्वविद्यालयमा ढुङ्गा हान्न लगाउने लगाएको भन्दै शीर्ष नेताहरूमाथि प्रश्न समेत गरे । 

सांसद शाहीले काँग्रेसका नेता गगन थापा र विश्व प्रकाश शर्मालाई इंगित गर्दै यस्तो आरोप लगाएका हुन् । उनले देशमा भएका विश्वविद्यालयहरू राजाको कार्यकालमा बनेको दाबी गरे । 

उनले भने,‘२४ हजार ८ सय १८ वटा विद्यालय २०४४ मा बनेका छन् । त्यो तिमीहरूले बनाएको हो ? खुबै भाषण गर्नुहुन्छ कांग्रेसका गगन थापा र विश्व प्रकाशहरू । आज यहीँबाट सुनाउन चाहन्छु, २४ हजार ८ सय १८ वटा विद्यालय राजाको पालामा बनेका हुन् । बाबुराम भट्टराईले पनि बुझ्नुपर्छ, राजाका पालामा पढ्न दिइँदैन भनेर जनता भड्काउने भनेर यस्तो झूटो कुरा गर्ने ?’

सांसद शाहीले थप भने ‘देशमा एउटा अस्पताल छैन् । एउटा विद्यालय बनाउनु छैन । एउटा उद्योग कल कारखाना बनाउनु छैन । पार्टीको कार्यकर्ता पाल्ने, देश लुट्ने, आफ्ना छोराछोरी विदेश पठाउने जनताका छोराछोरी त्रिभुवन विश्वविद्यालयमा ढुङ्गा हान्न लगाउने ? त्यसका विरुद्ध आजको आन्दोलन हो ।’ 

उनले हालको व्यवस्थाले लुटेरा मात्र जन्माएको आरोप लगाउन भ्याए । उनले भने,‘यो १६ वर्षमा १४ वटा सरकार फेरे । १ हजार मान्छे मन्त्री भए । करिब ३ हजार सांसद भए । ३१ वटा प्रदेश प्रमुख भए, मुख्यमन्त्री भए । ३० वटा प्रदेश प्रमुख, तीन जना राष्ट्रपति, तीन जना उपराष्ट्रपति अनि गाउँ गाउँमा छोटे राजा बनाएर देश लुट्ने ?’

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update