Harsamaya
जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली

जनकपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्र भावले सेवा दिइ लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन आग्रह गरेका छन् । 

मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अरू अधिकारको कुनै अर्थ नहुने स्पष्ट गर्दै विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आव्हान गरे । 

‘संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था हाम्रो उपलब्धि हो । यो उपलब्धिलाई केवल राजनीतिक उपलब्धिका मात्रै होइन जनताको संघर्षबाट प्राप्त भएको उपलब्धिका रुपमा लिनुपर्छ । त्यसकारण हाम्रा प्रयासहरु जनताको सेवामा समर्पित हुनुपर्छ । परिपूर्ण लोकतन्त्रका लागि हामीले काम गर्नुपर्छ ।’, प्रधानमन्त्री ओलीले भने ‘जनताले परिवर्तनको उपलब्धि आफ्नो पेट, आफ्नो आङ र सन्ततिको हितमा खोज्छ । त्यसकारण हामीले जनताको जीवनमा लोकतन्त्र दिनुपर्छ । सम्पूर्ण सामाजिक जीवनमा लोकतन्त्र फुलाउनुपर्छ । त्यसका लागि समाजलाई विकास र सुशासनको गतिमा लानैपर्छ ।’

प्रधानमन्त्री ओलीले मधेश प्रदेशको सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव अत्यन्त सुन्दर पक्ष भएको उल्लेख गर्दै यहाँका अनुशासित, चेतनशील तथा विकासप्रेमी नागरिकले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान कायम गर्न पुर्याएको योगदानको प्रशंसा गरे । 

संविधानले प्रदेशलाई स्वायत्तता प्रदान गरेको र यो स्वायत्तताको सही उपयोग गर्न सबैको दायित्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संघ, प्रदेश र स्थानीय तह बिचको समन्वय, नीति निर्माण र विकासका कार्यहरूलाई प्रभावकारी बनाउन प्रदेश सरकारको विशेष भूमिका रहने बताए । 

प्रधानमन्त्री ओलीले मधेश प्रदेश सम्भावनै सम्भावनाहरूको उर्बर भूमि कृषिका लागि उपयुक्त हुने र चुरेक्षेत्र जडिबुटी, जङ्गलदेखि पानीको अपार स्रोत रहेको बताए । 

उनले सुनकोसी डाइभर्सन आयोजनाजस्ता कार्यक्रमले मधेसमा सिँचाइ भई राष्ट्रिय उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र यस पहाड र तराईबीचको एकताभाव सृजना गर्ने बताए ।  

प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्र, पेट्रोलियम पाइपलाइन, रेलमार्ग, एसियन हाइवे, हुलाकी सडक, दूतमार्ग, रामराजाप्रसाद सिंह अस्पताल मधेशको विकास र समृद्धिको आधार भएकाले आइसिपी तथा प्रमुख भन्सार नाका विरगंजलाई आर्थिक केन्द्र तथा प्राचीन शहर जनकपुरधामलाई सांस्कृतिक पर्यटनको आधारको रुपमा विकास गर्न सकिने बताए ।  आफूले रेलमार्गका कुरा गर्दा नपत्याएर विरोध गरेको स्मरण गर्दै उनले अहिले जनकपुरमा रेल यात्रा सहज भएको स्पष्ट पारे । 
 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update