Harsamaya
राप्रपाको नेतृत्वमा आज काठमाडौंमा राजावादीको पुनः प्रदर्शन, घुसपैठ रोक्न हजारौं स्वयंसेवक खटाइने
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीले आज विशाल आमसभा प्रदर्शन गर्दैछ ।

भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनमा स्थानीय प्रशासनले अनुमति नदिएपछि राप्रपाले बल्खुमा प्रदर्शन गर्न लागेको हो ।

‘चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुनेछ,’ प्रचार विभाग प्रमुख श्रेष्ठले भने, ‘प्रशासन  सुरक्षाको कारण देखाउँदै भृकुटीमण्डपमा अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको हो ।’

उनले अगाडि भने, ‘सरकारको रवैयाबाट बुझौं, हाम्रो आन्दोलनले उचाइ लिदैंछ, आन्दोलनलाई योजनाबद्ध ढंगबाट क्रमिक रूपमा अघि बढाऔं ।’

सो प्रदर्शनलाई सफल बनाउने पूर्व तयारीका लागि हिजो केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यसमितिको बैठक पनि बसेको थियो । जुन बैठकले प्रदर्शन सभ्य, अनुशासित र भव्य बनाउने निर्णय गरेको छ ।

विवादास्पद मेडिकल व्यवसायी दुर्गा पर्सांइ नेतृत्वले गत चैत १५ गते गरेको राजावादीको आन्दोलन हिंसात्मक भएपछि राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले आजको प्रदर्शन अनुशासित बनाउन विशेष जोड दिनेछ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार हुने आमसभामा हिंसा भड्काउने प्रयास हुनसक्ने भन्दै त्यसलाई रोक्न हजारौं स्वयंसेवक खटाइने बताए ।

उनले भने,‘बल्खुमा हुने आमसभामा घुसपैठ भए प्रतिकार गर्नेछौं । आमसभामा हिंसा भड्काउने प्रयास हुनसक्छ त्यसलाई रोक्न हामी हजारौं स्वयंसेवक खटाउने छौं । मंगलबार ९ बजेबाटै कार्यक्रम स्थलमा स्वयंसेवकहरू हुनेछन् ।’
 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update