Harsamaya
छचल्किए बबरमहलमा पाँच महिलाले कोरेका जीवन र भोगाइका रंग... (भिडियोसहित)
कलाकार कृपा राणा, सन्ध्या सिंह महर्जन र सगुन शाह सिंह।

काठमाडौं - कलाकार कीपा राणालाई सानैबाट आर्ट गर्न मन पर्थ्यो । उनले १३ वर्षको उमेरमा पहिलो आर्ट प्रदशनी गरेकी थिइन् । प्रदर्शनीको स्वर्गीय राजकुमारी श्रुति राज्य लक्ष्मी देवी शाहले आर्ट ग्यालरीमा उद्घाटन गरेकी थिइन् । संयोग कस्तो भयो भने उनको आर्ट उद्घाटन गर्ने दिन नै  राजकुमारी पहिलो पटक दरबार बाहिरको कार्यक्रममा निस्किएकी थिइन् । 

उनले आफ्ना शिक्षकहरूबाट सधैं हौसला र प्रेरणा पाइन् । उनले ललित कला क्याम्पसबाट आर्टमा स्नातकसम्म गरेकी छिन् । पढाइपछि उनको विवाह भयो । विवाहपछि घरपरिवारमा उनी व्यस्त भइन् । व्यस्तताले उनले गर्ने आर्टहरू हराए । तर उनले आफूलाई आर्ट टिचरका रुपमा भने सधै पाइन् । विगत २५ वर्ष देखि पाठशाला नेपाल र स्वर्णिम स्कुलमा उनी आर्ट शिक्षकको रूपमा कार्यरत छिन् । 

उमेरले ४ दशक काटेपछि उनी पुन:आर्टमा फर्किएकी छिन् । ‘अहिले ४० वर्ष कटेपछि हामी दिदिबहिनी भेट्यौं’ , उनले भनिन्,  ‘अहिले म फेरि कलामा फर्किएको छु ।’ उनी भगवान् शिवका रूपहरूको आर्ट गर्छिन् । अहिले पनि भगवान शिवका आर्टहरू प्रदर्शनीमा राखिएका छन् । उनका आर्टहरूको मूल्य १५ हजार देखि ३५ हजारसम्मका छन् । प्रदर्शनीमा राखिएका तीन वटा उनका आर्टहरू बिक्री भइसकेका छन् । ‘प्रदर्शनीमा राखिएकामध्ये ३ वटा आर्ट बिक्री भइसके जसको लागी म एकदमै खुशी र हर्षित छु’, उनले खुशी साट्दै भनिन् । 
2-1744044747.jpg
आर्ट गरेर जीवनयापन गर्न सकिँदैन भन्ने भास्य कति ठाउँमा सही रहेको उनको तर्क छ । ‘कलाकारको रूपमा भन्न त नमिल्ला’, उनले भनिन्, ‘तर भन्नैपर्दा अहिलेको समयमा प्रदर्शनी गरेर पैसा कमाउने , प्रदर्शनीको  खर्च उठाउन अलि गार्है छ ।’ कला बुझ्ने मान्छे कमै रहेको उनको अनुभव छ । 

‘जब म ललित कला पढ्छु भन्दा मलाई धेरैले ओहो तिमी आर्ट पढ्ने ?, आर्ट पढेर के गर्ने ?, तिमी पढ्न सक्छौ ? अर्को विषय पढ , यो बन , डाक्टर बन , इन्जिनियर बन भन्ने थियो’, उनले भनिन्, ‘जुन अहिलेसम्म पनि कायम नै छ ।’ अभिभावकले आफ्ना बच्चाहरू खाली आर्ट गरेर बस्छ पढ्दैनन् भन्ने गरेको उनी सम्झिन्छिन् । 
 
समाजमा आर्ट नपढ्नेले गर्छ भन्ने बुझाइ रहेको उनको अनुभव छ । नपढ्ने हैन पढ्नेले पनि आर्ट गर्ने राना बताउँछिन् । खाना जसले पनि बनाउन सक्छ तर आर्ट सबैले बनाउन नसक्ने उनको दाबी छ । आर्ट भित्रैदेखि आउनुपर्ने र यसको लागि धेरै अभ्यास भने जरुरी रहेको उनी बताउँछिन् । ‘जुनै कामपनि मनबाटै राम्रो गरे सफल हुन्छ’, उनले भनिन् ।   

सन्ध्या सिंह महर्जन पौवा आर्टहरू बनाउँछिन् । उनका कलामा प्रकृति र मनिसको जीवन पाउन सकिन्छ । उनी बाहिर हिड्दा देखेका दृश्यहरू दिमागमा क्लिक गर्छिन् र त्यसलाई आर्टमा उतार्छिन् । उनी २००७ देखि पौवा आर्ट सिकिरहेकी छिन् । ‘म अहिले पन गुरुसँग आर्ट सिकिरहेको छु’, उनले भनिन् । पौवा भनेको परम्परागत कुराहरूलाई आर्टमा उतार्नु हो । उनले ललितकला क्याम्पस पढ्दादेखिनै आर्टहरू गर्थिन् । ‘पहिला कलेज टाइमका पेन्टिङ हेर्दा के पेन्टिङ गरेछु जस्तो लाग्छ’, उनले भनिन् , ‘अहिले चाहि कलरहरू खेलाउन जाने जस्तो लाग्छ खुशी छु।’ उनका १० वटा आर्टहरू प्रदर्शनीमा छन्  जसको मूल्य ३० हजारदेखि २ लाख ५० हजारसम्म छ। 
3-1744044784.jpg
कलाकार सगुन शाह सिंहले २०५६ बाट आर्ट गर्न सुरु गरेकी थिइन् । उनी गणेशका ह्यापी मुडहरूको चित्र कोर्ने गर्छिन् । उनले कोरेका गणेशका विभिन्न रूपहरूको चित्र प्रदर्शनीमा राखिएका छन् । उनी खुशी हुँदा मात्रै आर्ट गर्छिन् । गणेशका  सात वटा आर्ट प्रदर्शनीमा छन् तिनका मूल्य ५ देखि ३५ हजारसम्म पर्नेछ । उनको यो पहिलो प्रदर्शनी हो । 

आर्ट काउन्सिल बबरमहलमा पाँच जना महिलाहरूको कला प्रदर्शनी भएको छ । ललितकला गुठीले पाँचजना महिला कलाकारको संयुक्त कला प्रदर्शनी गरेको हो । कलाकारहरू कृति शाह चन्द, कीपा राणा, पूजा अग्रवाल, सन्ध्या सिंह महर्जन र सगुन शाह सिंहका कलात्मक सिर्जनाहरू प्रदर्शनीमा राखिएका थिए । 

सो कला प्रदर्शनीको वरिष्ठ साहित्यकार पद्मावती सिंहले चैत २२ गते उद्घाटन गरेकी थिइन् ।  उतम डंगोल र स्मृति कर्माचार्यको आयोजनामा भएको प्रदर्शनीमा कलाकार शशी विक्रम शाह प्रमुख अतिथि थिए । प्रदर्शनी आज सकिएको छ ।


5-1744044843.jpg
6-1744044844.jpg
भिडियो :-

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update