
काठमाडौं - अहिलेसम्मकै उच्च वायुप्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत देशभरका विमानस्थलहरूबाट नियमित हुने हवाई उडान प्रभावित भएका छन् । दर्जनौं उडान रद्द समेत भइरहेका छन् ।
धुँवा, धुलो र वायु प्रदूषणका हवाई रुटमा पर्ने आकाशमा बाक्लो तुँवालो लागेपछि उडान डिले हुने मात्र नभइ धमाधम रद्द पनि भइरहेका छन् । विमान कम्पनीहरूका अनुसार एक सातामा करित दुई सय बढी उडान रद्द भएका छन् ।
सोमबार बिहान मात्रै बुद्ध एयरको पोखरा र भरतपुर उडान पनि प्रभावित भएको कम्पनीका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए।
कर्णले भने, ‘वायु प्रदूषका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित हुन पुगको छ । सोमबार धेरै उडानहरू प्रभावित नै भएका छन् । सोमबार बिहान मात्र पोखरा, भरतपुर उडान पनि प्रभावित भएको छ । ४ बजेसम्म पनि यस्तै अवस्था रह्यो भने सबै उडान रद्द हुने सम्भावना छ । यसरी उडानहरू प्रभावित हुँदा कम्पनीहरूलाई नोक्सान त हुने नै भयो ।’
साथै कर्णले काठमाडौं–तुम्लिङटार उडानको रुट रद्द भएको जानकारी दिए । उनले यसरी वायु प्रदूषणले हवाई उडान प्रभावित हुँदा आउजाउ गर्ने यात्रुहरूले सास्ती व्यहोर्नुपरेको बताए ।
मुख्य पर्यटकीय सिजनमै उडानहरू रद्द हुँदा आर्थिक क्षतिसँगै नेपालको पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको छ । पर्यटकीय सिजनमा वायुसेवा अपरेटरहरूले पोखरा, जोमसोम र लुक्ला क्षेत्रका उडानबाट राम्रो आम्दानी गर्ने गर्छन् ।
‘डलरफेयर’ मा आम्दानी गर्ने कम्पनीहरू यही बेला उडानहरू रद्द हुँदा वायुसेवा कम्पनीहरूको मुख्य आम्दानीको सिजनमा निराश हुनुपरेको छ ।