
सर्लाही - बसबरिया गाउँपालिका-१, मानपुरमा बर्थिङ सेन्टरको बेग्लै भवन निर्माण गरिएको छ । यसअघि स्वास्थ्य चौकीको साँघुरो भवनबाट बर्थिङ सेन्टर सञ्चालन हुँदै आएको थियो। मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ लाख रुपियाँ खर्चिएर स्वास्थ्य चौकीको परिसरमा बर्थिङ सेन्टरका लागि बेग्लै भवन निर्माण गरिदिएको हो ।
नवनिर्मित बर्थिङ सेन्टर भवनको शनिबार प्रदेश सरकारका निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं मधेश प्रदेश सभा सदस्य वीरेन्द्रप्रसाद सिंहले उद्घाटन गरेका छन् । बर्थिङ सेन्टर भवनको उद्घाटन गर्दै प्रदेश सभा सदस्य सिंहले प्रसूति सेवा लिन बरहथवा वा मलङ्गवा धाउनुपर्ने बाध्यता अन्त्य गर्न गाउँकै बर्थिङ सेन्टरलाई मापदण्ड अनुसार सञ्चालन गर्न नयाँ भवन निर्माण गरिएको बताए ।
उनले बर्थिङ सेन्टरको बेग्लै भवन बनेसँगै सेवा प्रवाहका लागि पहिलेको भन्दा सहज हुने विश्वास व्यक्त गरे । बर्थिङ सेन्टर उद्घाटनकै अवसरमा बसबरिया गाउँपालिका निवासी नेपाली कांग्रेसका नेता गजेन्द्र साहले मानपुरकै क्यान्सरपीडित धुपिया देवीलाई व्यक्तिगततर्फबाट पाँच हजार एक सय रुपियाँ सहयोग प्रदान गरेका छन् । कांग्रेस नेता साहले क्यान्सरपीडित धुपिया देवीको उपचारका लागि थप सहयोग जुटाउन पहल गरिरहेको जानकारी दिए ।