Harsamaya
लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि
लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन।

काठमाडौं - लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि सुरु हुने भएको छ। कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण' भन्ने नाराका साथ लेखा व्यवसायीको सम्मेलन आयोजना हुन लागेको आयोजक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले जानकारी दिएको छ ।

मंगलबार हुने उद्घाटन कार्यक्रममा आइक्यानका अध्यक्ष प्रवीणकुमार भा र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी, डेपुटी महालेखा परीक्षक वामदेव शर्मा अधिकारी र दक्षिण एसियाली लेखा महासंघ अध्यक्ष असाफाक युसुफ तोलासमेत उपस्थित रहने बताइएको छ । 

कार्यक्रम अवधिभर लेखा व्यवसायी, नीति-निर्माता, शिक्षाविद्, उद्योगी तथा विद्यार्थीमाझ कर प्रणाली तथा सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरण विषयमा अन्तरक्रिया हुने आयोजकले जनाएको छ। 

दुई दिनसम्म चल्ने सम्मेलनमा पाँच प्राविधिक तथा दुई पूरकसहित कुल सात सत्र सञ्चालन हुँदै छन् । सम्मेलनले लेखा पेसाको उन्नति र आर्थिक विकासमा समेत योगदान पुऱ्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। 

सात सेसनमा ३५ वक्ता सहभागी हुनेछन् । चारजनाले प्रस्तुति दिनेछन् । पाँचजना अन्तर्राष्ट्रिय प्रतिनिधिसमेत उपस्थित हुने आयोजकले बताएको छ । सम्मेलनमा राष्ट्रिय-अन्तर्राष्ट्रिय गरी करिब एक हजारको सहभागिता रहने अनुमान गरिएको छ। 

चार्टर्ड एकाउन्टेन्ट संघका अध्यक्ष अरुण राउत र अडिटर्स एसोसिएसन अध्यक्ष बद्रीप्रसाद भट्टराईको समेत उपस्थिति रहनेछ। आइक्यान उपाध्यक्ष नीलबहादुर मगरले कार्यक्रम समापन गर्ने योजना छ ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update