
काठमाडौं - यस वर्षको वसन्तकालीन सिजनका लागि हिमाल आरोहण गर्न हालसम्म नेपालसहित विभिन्न देशका एक सय ९८ आरोहीले अनुमति लिएका छन्। आरोहीले सर्वोच्च शिखर सगरमाथासहित विभिन्न २९ हिमाल आरोहणका लागि अनुमति लिएका हुन्।
हालसम्म सात समूहबाट १७ महिलासहित ७७ जनाले सगरमाथा (८,८४८.८६ मि) आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ। वसन्त ऋतु सगरमाथा आरोहणका लागि सबैभन्दा उपयुक्त सिजन मानिन्छ । यो समयमा अधिकांश आरोहीहरू सगरमाथा आरोहण गर्न आउने गर्छन्। विभागका अनुसार अन्नपूर्ण - १ (८,०९१ मि) आरोहण गर्न ६६ जना र अन्नपूर्ण-५ का लागि आठजनाले अनुमति लिएका छन् । यस्तै, मकालु हिमाल (८, ४८५ मि) आरोहणका लागि १५, ल्होत्से (८,५१६ मि) आरोहणका लागि १५ जनाले अनुमति पाएको विभागले जनाएको छ । पर्यटन विभागले वसन्तयामका लागि धमाधम आरोहण अनुमति दिइरहेको छ।
हालसम्म सात समूहबाट १७ महिलासहित ७७ जनाले सगरमाथा (८,८४८.८६ मि) आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।
विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीहरू सम्बन्धित हिमालतर्फ जाने क्रम सुरु भइसकेको छ । तर, अभै पिक चढ्न भने सुरु गरिएको छैन । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आइसफल डाक्टरहरूले बाटो बनाउने काम गरिरहेका छन् । तर, खराब मौसमका कारण रोप फिक्सिङको काम गर्न कठिन भइरहेको बताइएको छ।
अहिले खुम्बु आइसफल क्षेत्रमा भयङ राख्ने र डोरी टाँग्ने काम भइरहेको छ । अझै आधार शिविरबाट दोस्रो शिविरसम्म पनि बाटो बनाउने काम सम्पन्न भइसकेको छैन । आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) ले बाटो बनाउँदै छ ।