Harsamaya
समयमै काम नसक्नेको पेस्की फिर्ता
वालिङ नगपालिका।

स्याङ्जा - समयमै काम नसक्ने निर्माण कम्पनीलाई पूर्वाधार विकास कार्यालय स्याङ्जाले कारबाही गरेको छ। यहाँको वालिङ नगपालिका-४, रन्ते सुन्तलाबारी हुँदै मनकामना बिरुवा गाउँपालिका जोड्ने रत्ने सुन्तलाबारी सडक सम्झौता अनुसार समयमा काम नगरेका कारण पूर्वाधारले पेस्की रकम फिर्ता गरेको हो ।

जलजला निर्माण सेवाले गएको फागुन १ गते काम सक्ने गरेर तीन वर्ष पहिला सम्झौता गरेकोमा ३८ प्रतिशत काम मात्र सकेको हो । समयमै काम नसक्ने र दुई महिनाबाट काम नगरेपछि पेस्की लगेको चार करोडमध्ये तीन करोड ८५ लाख ५० हजार रुपैयाँ फिर्ता गरेको इन्जिनियर शिवप्रसाद ढुङ्गानाले बताए । 

निर्माण कम्पनीको बैंक ग्यारेन्टीबाट रकम फिर्ता गरेर प्रदेश सरकारको सञ्चित कोषमा पूर्वाधारले जम्मा गरेको हो । विभिन्न भौतिक पूर्वाधारसहित साढे नौ किमीमध्ये ३.३ किमी ढलान र ६.२ किमी प्रिमिक्स कालोपत्रे गर्ने गरेर निर्माण कम्पनीले सम्झौता गरेको थियो ।

पूर्वाधारका प्रमुख दयाराम अधिकारीले पहिलो चरणमा एकचोटि म्याद थप गर्ने र म्याद थप गरेर पनि काम नसकेमा कालो सूचीमा राख्ने र ठेक्का सम्झौता रद्द गरिने बताउनुभयो । यस्तै पूर्वाधारले यसअघि भिरकोटका दुई योजना निर्माण नगर्ने भद्रकाली इन्जिनियरिङ एन्ड बिल्डर्स पोखराको सम्झौता रद्द गरेको थियो ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update