
मकवानपुर - पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-७ स्थित मनहरी बिलिभर्स इङ्ग्लिस स्कुललाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आर्थिक सहायता प्रदान गरेको छ।
केही महिनाअघि उक्त विद्यालयको बसले किचेर मनहरी गाउँपालिका-६ मा २२ महिने बालिकाको ज्यान गएको थियो। उक्त घटनापछि भोग्नु परेको कानुनी संकट तथा आर्थिक क्षतिमा साथ दिनका लागि प्याब्सनले आर्थिक सहयोग गरेको जिल्ला अध्यक्ष विनोद सुवेदीले बताए।
अध्यक्ष सुवेदीका अनुसार मनहरी बिलिभर्स इङ्ग्लिस स्कुललाई जिल्ला प्याब्सन र मनहरी प्याब्सनको संयुक्त पहलमा दुई लाख ८४ हजार रुपियाँ हस्तान्तरण गरिएको हो । बालिकाको मृत्यु भएपछि मृतक परिवारलाई क्षतिपूर्ति दिँदा र कानुनी उपचार गर्दा भएको क्षतिमा सदस्य विद्यालयलाई थोरै भए पनि मलम लगाइएको प्याब्सन मनहरीका अध्यक्ष यदुनाथ श्रेष्ठले बताए।
मकवानपुरका हरेक संस्थागत विद्यालयबाट संकलित रकम मनहरी बिलिभर्स इङ्ग्लिस स्कुलका प्रिन्सिपल मदन स्याङ्तान र अध्यक्ष सुनील मोक्तानलाई एक समारोहबीच हस्तान्तरण गरिएको हो।