Harsamaya
देशमा विचौलियाहरूको बिगबिगी छ, सरकार सुशासन दिनै सक्दैन : डा.शेखर
नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला ।

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले हरेक ठाउँमा विचौलियाहरुको बिगबिगी बढेको बताएका छन् । 

आइतबार डा.सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले देशको राजनीति परिस्थिति एकदमै नाजुक भएको भन्दै हरेक ठाउँमा विचौलियाहरूको बिगबिगी बढेको बताएका हुन् । 

‘अहिलेको देशको राजनीतिक परिस्थिती एकदमै नाजुक छ । दिनदिनै खराब हुँदै गइरहेको छ । विचौलियाहरूको बिगबिगी भएको छ । हरेक ठाउँ वा हरेक तप्काका विचौलियाहरू बिगबिगी छ । तर यो सरकार निर्माण गर्दा जुन कल्पना गरिएको थियो त्यो हामीले अगाडि बढाउनै सकेनौं । काम नै भएको छैन् ।’

उनले देशको अर्थतन्त्रसँग खेल्ने अधिकार कसैलाई नभएको बताए । उनले राजनीतिक नेतृत्वमा इच्छाशक्ति भए देश बन्ने बताए । 

‘देशको अर्थतन्त्रसँग खेल्ने, मजाक गर्ने अधिकार कसैलाई छैन । उहाँहरु(सरकार)ले सुशासन दिन्छौ, देशमा भ्रष्ट्राचार न्यूनिकरण गर्छौ भन्नुभयो तर सुशासन कस्तो अवस्थामा छ मैले भनिरहन पर्दैन,’उनले भने । उनले पुस्तक ‘कात्रोमा खल्ती’को प्रसंग झिक्दै हाल नेपालमा कात्रोमा खल्ती नै हुन्छ कि जस्तो गरी मानिसहरूले प्रवृत्ति देखाउन थालेको पनि बताए । 

फरक प्रसंगमा डा.कोइरालाले केही स्थानमा राजनेता बीपी कोइरालाको शालिकमा मोसो दल्ने काम भएकोप्रति चिन्ता व्यक्त गरे । उनले भने,‘पश्चिमतिर बीपीको शालिकमा कालो मोसो दल्ने काम भएछ । त्यो राम्रो संस्कार होइन् । मोसो दल्दैमा बीपी कालो हुने पनि हैन् । वीपीबाट धेरै कुरा सिक्न जरुरी छ ।’

कार्यक्रममा पुस्तकका लेखक सुमन कर्मचार्यले राजनीति भनेको दर्शन हो तर राजनीति दर्शन अनुसार नचलेकाले आफूले कलम चलाएको बताए । उनले राजनीतिक खराबीका विरुद्ध कलम चलाइरहने प्रतिबद्धता पनि जनाए । 


 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update