Harsamaya
एनपीएलमा विराटनगर किंग्सबाट खेलेका क्यानडाका कप्तान निकोलस लागूऔषध मुद्दामा पक्राउ
क्यानडाका क्रिकेट कप्तान निकोलस किर्टन ।

काठमाडौं - क्यानडाका क्रिकेट कप्तान निकोलस किर्टन लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका छन् । स्थानीय रिपोर्ट अनुसार कारिबियन मुलुक बारबाडोसको विमानस्थलमा २६ वर्षीय किर्टन गत आइतबार पक्राउ परेका हुन्। किर्टन उनै हुन जो विराटनगर किंग्सबाट एनपीएलमा सहभागी थिए । 

किर्टनलाई बारबाडोसको अदालतले धरौटीमा रिहा गरेको छ। उनले लागू औषध सम्बन्धी चारवटा आरोपमा दोषी नदेखिएको बयान दिएका थिए।

आईतवार बारबाडोस ओर्लनेबित्तिकै पक्राउ परेका किर्टनमाथि गाँजा राख्ने, ओसारपसार गर्ने, आयात गर्ने र बिक्रीको उद्देश्य राख्ने आरोप लागेको छ।

स्टारकम नेटवर्कको रिपोर्ट अनुसार, किर्टन शुक्रबार बिहान अदालतमा उपस्थित भएका थिए र उनलाई धरौटीमा रिहा गरिएको हो। अब उनी आगामी जुन २ मा पुनः अदालतमा उपस्थित हुनुपर्नेछ।

बारबाडोसमै जन्मेका किर्टनले वेस्ट इन्डिज यु-१९ र बारबाडोसको लागि खेलेपछि क्यानडा गएका थिए। क्यानडाबाट खेलेका उनले अहिलेसम्म २१ एकदिवसीय खेलमा ५१४ रन र २८ टी-२० खेलमा ६२७ रन बनाएका छन्।

२०२४ को टी-२० विश्वकपमा किर्टन कप्तान नभए पनि टोलीका शीर्ष स्कोरर थिए। उनले तीन खेलमा १०१ रन बनाउँदै १४०.२७ को स्ट्राइक रेट राखेका थिए। आयरल्यान्डविरुद्ध ३५ बलमा ४९ रन बनाउँदै ‘प्लेयर अफ द म्याच’ पनि भएका थिए।

उनलाई जुलाई २०२४ मा क्यानडाको कप्तान नियुक्त गरिएको थियो।

क्यानडा अहिले १८ अप्रिलबाट केम्यान आइल्यान्ड्समा सुरु हुन गइरहेको पहिलो उत्तर अमेरिकी कपको तयारीमा छ । जसमा क्यानाडासँगै केम्यान आइल्यान्ड्स, बहामास, बर्मुडा र संयुक्त राज्य अमेरिका सहभागी हुनेछन्।

यस घटनाले क्यानाडाको तयारीमा असर पार्न सक्ने सम्भावना देखिएको छ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update