
नवलपरासी - नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमन बन्द गरिने भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका सरोकारवालाको शनिबार दाउन्नेमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
दाउन्ने क्षेत्रमा यही चैत २७ गतेदेखि चैत ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म तथा २०८२ वैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गर्ने निर्णय गरिएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए ।
अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए ।
नारायणगढ–बुटवल सडकको ११४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र जोखिम बढिरहेको क्षेत्र मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम भइरहेको छ ।
१७ अर्ब रुपैयाँको लागतमा सडक निर्माणको काम भइरहेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक २०८२ साउनसम्मका लागि म्याद थप गरिएको छ ।