वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड
काठमाडौं - उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले संघीय ढाँचाको वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीतिसम्बन्धी उच्च स्तरीय परामर्श गोष्ठीलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै पौडेलले मुलुक संघीय संरचनामा गइसकेपछि सोही अनुसारको वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।
उनले राजस्व संकलन, आन्तरिक ऋण, अन्तरराष्ट्रिय अनुदानबाट मात्रै वित्तीय व्यवस्थापन हुँदै आएकोमा अव भने उक्त माध्यमबाट मात्रै वित्तीय व्यवस्थापन गरेर राष्ट्रको समृद्धिको आकांक्षा पुरा हुन नसक्ने उल्लेख गरे ।
सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रमका लागि समेत राज्यले आफैले स्रोत व्यवस्थापन गर्न नसकेको उनले बताए । मन्त्री पौडेलले राष्ट्रिय आवश्यकताका आधारमा अन्तरराष्ट्रिय सहयोग लिने भनिएपनि वास्तविक रूपमा त्यस्तो हुन नसकेको विषयमा समीक्षा जरुरी रहेको धारणा राखे । खर्च व्यवस्थापनमा निकै कमजोर देखिएको भन्दै उनले यसका कारण वित्तीय प्रणालीमा समस्या आउन सक्ने उल्लेख गरे ।
त्यस्तै मन्त्री पौडेलले बेरुजूको अवस्था वृद्धि गर्दै गएको अवस्थामा यसलाई न्यूनीकरण गर्ने उपायको खोजी गर्नुपर्ने बताए ।
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१ १४:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय