
काठमाडौं - गृहमन्त्री रमेश लेखकले शन्तिपूर्ण प्रदर्शन गरेको भन्दै समाजवादी मोर्चालाई धन्यवाद दिएका छन् ।
यही चैत १५ गते काठमाडौंमा आयोजित प्रदर्शनबारे जवाफ दिन शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मोर्चाको शन्तिपूर्ण प्रदर्शन भए पनि राजावादीको प्रदर्शनलाई उनले ‘हिंसात्मक, अमानवीय, अमर्यादित र उच्छृंखल’को संज्ञा दिएका हुन् ।
उनले भने, ‘त्यो कार्यक्रममा आलोचनाका कुराहरू पनि भए, आफ्ना विचारका अभिव्यक्ति पनि भए । लोकतान्त्रिक मूल्य र मान्यता अनुरूप अत्यन्तै सभ्य र भव्य ढंगले कार्यक्रम सम्पन्न भयो । त्यसकारण समाजवादी मोर्चाका कार्यक्रम आयोजक साथीहरूलाई म धन्यवाद दिन चाहन्छु । साथै राजावादीहरुको प्रदर्शन नेपालको वर्तमान संविधानलाई उल्ट्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, समावेशी शासन व्यवस्था र समावेशी चरित्रको हामीले अवलम्बन गरेको राज्यव्यवस्था, राज्य प्रबन्ध र व्यवस्थालाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित थियो ।’
साथै उनले चैत १५ गते जस्तो आपराधिक गतिविधिमा सुरक्षा निकाय संयम नभएको भए अझ ठूलो क्षति हुने बताए । उनले अराजकता फैलाएर संविधान समाप्त पार्ने गतिविधि भएकोमा आफू स्पष्ट रहेको बताए ।
उनले भने, ‘धवलशम्शेर राणासहितलाई नियन्त्रणमा लिइएको छ । अनुसन्धानको क्रम जारी छ, संलग्न रहेकाको खोजी कार्य जारी रहेको छ । संयमता नअपनाएको भए अझ धेरै क्षति हुने थियो । जसरी आपराधिक गतिविधि भए, त्यसरी नै सुरक्षा निकाय संयम नभएको भए अझ ठूलो क्षति हुने थियो । अराजकता फैलाएर संविधान समाप्त पार्ने गतिविधि भएका थिए भन्नेमा स्पष्ट छु । नजिकै एयरपोर्ट छ, त्यहाँ आगजनी गर्ने काम भएको छ, नजिकै विदेशी जहाज छन्, त्यत्रो ठूलो तेलको भण्डारण छ । नजिकै प्रज्वलनशील पदार्थ थियो । यदि त्यहाँ आगो टिपेको भए काठमाडौंको अवस्था भयावह हुने थियो । त्यसरी नै लोकतन्त्रलाई जीवन्त राख्न सक्छौं ?’