
काठमाडौं - तराइ मधेश केन्द्रित दलहरूले आज संघीय लोकतान्त्रिक मोर्चाको घोषणा गरेका छन् । आज औपचारिक रूपमा घोषणा हुन लागेको मोर्चामा संघीय संसदभित्र र बाहिरका ७ तराइ मधेश केन्द्रित दल रहेका छन् ।
मोर्चाको नाम संघीय लोकतान्त्रिक मोर्चा राखिएको बुझिएको छ । २६ वटा बुँदामा सहमति जनाएका उनीहरूले मस्यौदामा हस्ताक्षरसमेत गरेका छन् । यसअघि ८ दलको मधेशी मोर्चाको तयारी भए पनि अन्तिममा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी भने सो मोर्चामा सामेल भएन ।
जसअनुसार संसद भित्र प्रतिनिधित्व गर्ने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी र रेसम लाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।
साथै, संसद भन्दा बाहिर रहेका दलहरू मध्ये राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी मोर्चामा सहभागी हुनेछन् ।