Harsamaya
प्रचण्डले निरन्तर दाउपेचको खेती चलाए पछि नयाँ गठबन्धन बन्योः ओली
केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओली

काठमाडौं - नेकपा एमालेको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । 

आज देखि च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा सुरू भएको बैठकमा अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जालझेल र दाउपेचको नीतिले कांग्रेस र एमाले मिलेर सरकार संञ्चालन गर्नु परेको प्रस्ट पारेका छन् ।

ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा मुख्यतयाः प्रचण्डका कारण कांग्रेस र एमाले एकै ठाउँमा उभिएको निष्कर्ष निकालेका छन् । नयाँ गठबन्धनबारे ओलीले प्रतिवेदनमा लेखेका छन, ‘गतः २०७९ मङ्सिरमा सम्पन्न आम निर्वाचनले मुलुकको आवश्यकतालाई सम्बोधन गर्न र सही राजनीतिक निकास दिन नसकेको विश्लेषण हामीले त्यतिबेलै गरिसकेका छौं । मुलुकले दिगो राजनीतिक स्थायित्वको माग गरिरहेको तर निर्वाचनको परिणाम भने अस्थिरतालाई टेवा पुर्याउने खालको रह्यो । राष्ट्रिय शक्तिहरू निर्णायक अवस्थामा हुनु पर्ने समयको खाँचो रहेको तर परिणाममा भने ती शक्तिहरु सापेक्षित रुपमा कमजोर हुन पुगेको हाम्रो निष्कर्ष सही थियो । तर पनि जनताको अभिमतलाई सम्मान गर्दै उपलब्ध विकल्पमध्ये हामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री प्रस्तावित गरेर नयाँ समीकरण निर्माण गरेका थियौं ।’ 

ओलीले माओवादीसँग सरकार बन्नु भन्दा अगाडी कांग्रेससँग समीकरणका लागि प्रयास गरेको लुकाएका छैनन । उनले भनेका छन, ‘यद्यपि, यस अघि नै हामीले नेपाली काङ्ग्रेससँग राजनीतिक स्थायित्वका लागि दुई मुख्य दल सहकार्यका साथ अगाडि बढौँ भन्ने प्रस्ताव राखिसकेका थियौँ । त्यो प्रस्ताव कार्यान्वयन हुन नसकेपछिको वाध्यात्मक विकल्पका रुपमा यसलाई छनोट गरिएको थियो ।’ 

 प्रचण्ड नेतृत्वको सरकार बनाउनका लागि पहल गरेको भए पनि अन्तिममा धोका दिएको ओलीको निष्कर्ष छ, ‘तर प्रधानमन्त्री भएको भोलिपल्टदेखि नै ‘प्रचण्ड‘ बाट आफ्नो पुरानै चरित्र प्रदर्शन हुन थाल्यो । राष्ट्रपतिको निर्वाचनको बिन्दुसम्म आइपुग्दा त माओवादी केन्द्र दाउपेच, विश्वासघात र शक्ति केन्द्रहरुको दबाब सामु आत्मसमर्पणको तल्लो बिन्दुसम्म ओर्लियो । त्यस स्थितिमा हामी सरकारमा बसिरहन सक्ने अवस्था हुँदैनथ्यो । हामी सरकारबाट बाहिरियौं र प्रतिपक्षका रुपमा हामीले ‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा‘ जस्ता विशाल जनपरिचालन गर्यौँ ।’

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update