Harsamaya
कमल कोइरालाको पार्थिव शरीर नेकपा एसको कार्यालयमा 
वामपन्थी नेता एवम् लेखक कमल कोइराला

काठमाडौं - वामपन्थी नेता एवम् लेखक कमल कोइरालाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेकपा एकीकृत समाजवादीको कार्यालयमा राखिएको छ । आइतबार निधन भएका कोइरालाको पार्थिव शरीर आज बिहान आलोकनगरस्थित पार्टी कार्यालयमा राखिएको हो ।

वरिष्ठ पत्रकार, अगुवा राजनीतिक व्यक्तित्व र कूटनीतिज्ञ समेत भनेर चिनिएका कोइरालाको ८७ वर्षको उमेरमा आइतबार साँझ निधन भएको थियो। पक्षघात भएपछि सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएका उनको उपचारकै क्रममा आइतबार राति निधन भएको हो ।

कमल पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा हुन्। कोइराला परिवारका एकमात्र कम्युनिस्ट नेताका रूपमा परिचित कमल पार्टी कामसँगै पत्रकारितामा पनि सक्रिय थिए ।

किशोरावस्थादेखि नै वामपन्थी राजनीतिमा सक्रिय उनी दक्षिण कोरियाका लागि राजदूत पनि बनेका थिए । उनीबाहेक कोइराला परिवारका अन्य व्यक्त वामपन्थी राजनीतिमा छैनन् । कोइरालाको आजै अन्तिम संस्कार गरिनेछ ।


 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update