
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तीनकुने आन्दोलनमा भएको हिंसात्मक घटनामा संलग्न जोकोहीलाई कडा प्रशासनिक कारबाही गरिने बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले घटनामा संलग्न जुनसुकै कभरमा बसेपनि कडा प्रशासनिक कारबाही गर्ने चेतावनी दिए ।
उनले भने,‘शुक्रबार तीनकुनेमा भएको शान्तिपूर्ण आन्दोलन भनिएकोमा आपराधिक घटना सुरु गरियो । आगजनी गरियो । मानिसलाई घरभित्रै थुनेर बाहरिबाट ताल्चा लगाएर जिउँदै जलाएर हत्या गरियो । प्रहरीको बन्दुक खोस्ने, कुटपिट गर्ने ढुंगामुडा, तोडफोट, लुटपात जस्ता आपराधिक घटना गरियो । अन्य आतंककारी काम समेत भयो । यी सबै निन्दनीय र खेलजनक क्रियाकलाप हुन् । यस्ता घटनामा संलग्नहरुमाथि जोसुकै जोस्, जुनसुकै कभरमा किन नहुन कडा प्रशासनिक कारबाही हुन्छ ।’
साथै उनले यसका योजनाकार को हुन र कोको संलग्न छन् भन्ने विषयमा सरकारले छानबिन र अनुसन्धान गरिरहेको पनि संसदमा जानकारी गराए ।
पूर्वराजा ज्ञानेन्द्र शाहले समाज बिथोल्न लागिपरेका दुर्गा प्रसाईलाई आफ्नै निवासमा डाकेर जनकमाण्डर तोकेर हिंसात्मक क्रियाकलापको लागि खटाएको पनि उनको भनाई छ । साथै ज्ञानेन्द्रले संविधानको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन गरेको पनि प्रधानमन्त्री ओलीको आरोप छ ।
उनले भने,‘यसका योजनाकार को हुन र कोको संलग्न छन । सरकारले यस विषयमा छानबिन र अनुसन्धान गरिरहेको छ । चैत्र १४ गते समाज बिथोल्न लागिपरेका एकजना व्यक्तिलाई आफ्नै निवासमा डाकेर जनकमाण्डर तोक्नुभयो र हिंसात्मक वारका लागि खटाउनुभयो । प्रारम्भिक अध्ययनले स्पष्ट पार्छ । पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन गर्नुभएको छ ।’