Harsamaya
हालकै व्यवस्था उत्कृष्ट छ, रक्षा गर्नुपर्छ : डा.महत
पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका सांसद डा.प्रकाश शरण महत ।

काठमाडौं - पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका सांसद डा.प्रकाश शरण महतले अहिलेको व्यवस्था नै उत्कृष्ट रहेको भन्दै यसको रक्षाको लागि सबै लाग्नुपर्ने बताएका छन् ।

आइतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो व्यवस्था संसारभरि लोकतान्त्रिक अभ्यासको रूपमा लागू भएको भन्दै उत्कृष्ट रहेको बताएका हुन् ।

उनले भने, ‘जनताका अधिकार सुरक्षित छन् । जनताको प्रतिनिधिहरूले शासन गर्छन् । प्रतिनिधिहरूले राम्रो काम गर्न सकेनन् भने प्रतिनिधिलाई हटाउने अधिकार पनि जनतालाई नै छ  । त्यसैले यो व्यवस्था संसारभरिका लागि उत्कृष्ट छ । लोकतान्त्रिक अभ्यास यसमै छ । यो भन्दा उत्कृष्ट अर्को व्यवस्था छैन भन्ने कुरामा दुईमत छैन । यो जनअधिकारको रक्षा सबैले गर्नुपर्छ ।’ 

उनले संसद अवरोधको कुनै औचित्य नभएको भन्दै प्रतिस्थापन विधेयक अध्यादेशबाट पास गर्न दिनुपर्ने पनि बताए । यस्तै, नेपाली कांग्रेसका सांसद उदय शम्शेर राणाले चैत्र १५ को राजावादीहरूको गतिविधि योजनाबद्ध भएको बताए ।

उनले भने,‘१५ गतेको राजावादीहरूको गतिविधि अन्यन्तै दुःखलाग्दो घटना हो । दुई जनाको ज्यान पनि गएको छ । ती मध्य एकजना प्रेसको साथी पनि छन् । दुईवटा प्रेसको कार्यालय, समाजवादी पार्टीको कार्यालयहरू ध्वस्त बनाएका छन् । योजनाबद्धरुपमा कार्य भएको छ । कुन-कुन ठाउँमा आक्रमण गर्ने भन्ने रणनीति पहिले बनेको देखिन्छ । विशेषगरी आयोजकहरूले नै कार्यक्रम पनि गर्ने र भड्काउने पनि गरेको देखिन्छ ।’

उनले संविधानमा सबैले शान्तिपूर्ण कार्यक्रम गर्न, आन्दोलन गर्न, विरोध सभा गर्न पाउने अधिकार रहेको उल्लेख गरे । 


 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update