Harsamaya
अमेरिका पुर्याइएका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरू फिर्ता  
नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरू आज नेपाल फिर्ता भएका छन् ।

काठमाडौं - नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरू आज नेपाल फिर्ता भएका छन् ।

आइतबार पुरातत्व विभाग काठमाडौंले विशेष कार्यक्रमको आयोजना गरी चोरी भएर अमेरिका पुर्याइएका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरू सार्वजनिक गरेको हो । 

विभागका अनुसार यीमध्ये तीनवटा पौवा चित्रहरु (१५–१८ औं शताब्दी) काठमाण्डौंस्थित इटुम्बहालबाट २०३७ सालमा हराएका थिए भने एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति (नवौं शताब्दी) बुङमतिको मच्छिन्द्रवहाल परिसरको चैत्यबाट हराएको थियो । 

यसै सन्दर्भमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मूर्ति नभइ हाम्रा आस्थाहरूलाई, विश्वासहरूलाई, सम्पदाहरूलाई फर्काउन सफल भएको बताए ।

उनले नेपालबाट हराएका हरेक मूर्तिहरूले बोकेको महत्व, आम सम्पदाको महत्व, संस्कृतिको महत्व आस्थाको दृष्टिकोणले मापन गर्न नसकिने बताए ।

उनले भने, ‘नेपालबाट हराएका हरेक मूर्तिहरूले बोकेको महत्व, आम सम्पदाको महत्व, संस्कृतिको महत्व धेरै छ । यसमा यो मूर्ति कति केजीको थियो भन्ने  कुरा मापन हुँदैन । यो मूर्तिहरूको महत्व बहुमूल्य छ । आस्थाको दृष्टिकोणले मापन गर्नै नसकिने तौल छ । त्यसैले हामीले हाम्रा आस्थाहरूलाई, हाम्रा विश्वासहरूलाई, हाम्रा सम्पदाहरूलाई फर्काउन सफल भएका छौं ।’

साथै उनले हाम्रा सम्पदाहरु संसारको जुनसुकै कुनामा पुगे पनि हरेक नेपालीहरुले फर्काउने सोच राख्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रा सम्पदाहरू संसारको कुनैपनि कुनामा पुगोस् त्यो कुनामा नेपालीहरु छन् । नेपालीहरूले आफ्नो सम्पदा चिन्छन्, यो हाम्रो सम्पदा हो भनेर जान्दछन्, यसको महत्व थाहा पाउँछन्, र त्यसमा फर्काएर ल्याउने कुरामा संसारभरी फैलिएका नेपालीहरुले फर्काउने सोच राख्नुहुनेछ भन्ने मैले आशा लिएको छु । नेपालबाट चोरिएका मूर्तिहरु नेपालीले जसरी पनि फर्काउँछन् भन्ने एउटा सन्देश आजको चोरी भएर अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरूले पुष्टि गरिसकेको छ ।’


 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update